
जनकपुरधाम- सर्लाहीमा चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ लालबन्दी नगरपालिका–१७ रानीगन्जबाट प्रदेश–३–०२–०१२प ५८३१ नम्बरको यमहाको एफजेड मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोलका २८ वर्षीय रामकरण महतोलाई नियन्त्रणमा लिएको छ ।
महतोको घरबाट चोरिएको एफजेड मोटरसाइकलसहित अन्य मोटरसाइकलबाट निकालिएका नम्बर प्लेट, ट्यांकीसहित विभिन्न पार्टपूर्जा समेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए ।
विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ । चोरी आरोपमा पक्राउ परेका महतोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।