जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पूणर् रुपमा असफल भएको दाबी गर्दै सरकारमा बसिरहने नैतिकता अहिलेको सरकारले गुमाइसकेको आरोप लगाउनु भयो ।
नेकपा (एमाले) मधेश प्रदेशको बुधबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्दै ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही नरहेको आरोप लगाए ।




उनले जनताको जनजिविकासँग जोडिएका वस्तुको मुल्य दिन प्रतिदिन अकाशिंदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसकेको बताए।
ओलीले इजरायलमा फसेका नेपाली विद्यार्थी सहित अन्य नागरिकहरूलाई छिटो भन्दा छिटो प्रक्रियाद्वारा उद्धार गर्नका लागि सरकार संग माग समेत गरे। उनले इजरायलमा भएको घटना अत्यन्तै दुःख भएको बताउँदै घाइतेको शीघ्र उपचार तथा मृतकको शव चाँडो नेपाल ल्याउनका लागि सरकारसँग माग गरे ।
अध्यक्ष ओलीले देश र मधेशको विकासका लागि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक भएको बताउँदै उनले एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताए । उनले हरेक वडामा एमाले कम्तिमा ५१ प्रतिशत हुनेगरी अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

मधेश प्रदेशको प्रमुख पार्टी एमाले भए पनि सरकार बनाउने सिट नपुगेकाले आउने निर्वाचनमा स्पष्ट बहुमत दिन मधेसका जनता संग आग्रह गरे। उनले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीले विभिन्न षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको उनको भनाइ छ।
आन्तरिक एकता र विरोधीसँग प्रतिस्पर्धा गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडि बढनुपर्ने आलीले बताए। एमाले नेतृत्वको सरकारले मात्र देशको समृद्धि कायम गर्न सक्ने भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउने प्रतिवद्धता जनाए।

कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई समृद्ध बनाउन मधेशलाई समृद्ध बनाउन जरुरी रहेको बताए। त्यसका लागि एमालेका सरकार आवश्यक भएको उनको भनाइ रहेको थियो । एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै अगामी निर्वाचनमा एमालेलाई बहुमत दिन उनले आग्रह गरे।
कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमालेमात्र भएको बताउँदै उनले एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निणर्ायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेता पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र समाजिक अराजकता फैलिएको र यसबाट मुक्तिका लागि एमाले बलियो हुनु नै एकमात्र विकल्प भएको बताए ।

कार्यक्रममा एमालेका मधेश इन्चार्ज योगेश भटट्राई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतो सहितले धारणा व्यक्त गरेका थिए ।
‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ मुलनाराका साथ आजदेखि सुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिबेशनको बन्दसत्र आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।




