
विश्वकप क्रिकेटमा भारतले चिर प्रतिद्धन्दी पाकिस्तानमाथि प्रभावशाली जित हासिल गरेको छ ।
अहमदावादमा केहीबेरअघि सकिएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।
कप्तान रोहित शर्माले ६३ बलमा ८६ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य ११७ बल अगावै ३ विकेट गुमाएर पार गर्यो ।
ओपनर शर्माले लगातार उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६ चौका र ६ छक्का प्रहार गरे । उनले यसअघि अफगानिस्तान विरुद्धको खेलमा शतक प्रहार गरेका थिए ।
पाकिस्तान विरुद्ध श्रेयस अय्यरले अविजित ५३ रनको योगदान गरे । विराट कोहली र शुभमन गिल १६-१६ रनमा आउट भएका थिए । पाकिस्तानका शाहिन साह अफ्रिदीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १९२ रन बनाएर अलआउट भएको थियो । बाबर आजमले ५० र मोहम्मद रिजवानले ४९ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।
भारतका जसपृत बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रवीन्द्र जडेजाले २-२ विकेट बाँडेका थिए ।
विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो । योसँगै भारत ६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ अंक नै भएको न्युजिल्याण्ड राम्रो रनरेटका साथ पहिलो स्थानमा छ ।
विश्वकप क्रिकेटमा यी दुई टिम बीच ८ पटक प्रतिस्पर्धा भएको छ । पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।