
जनकपुरधाम- बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक 'गुड्डु' भनिने रुपेश सर्राफको हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल 'गुड्डु' भनिने रुपेश सर्राफको गोली हानेर हत्या गरेको घटनामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

एसपी काफ्लेले भने ‘अहिले पक्राउ परेकाको परिचय खुलाउन नमिल्ने र बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ।' उनले अनुसन्धान पछि थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।
प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको व्यक्ति महिला रहेको र सर्राफको हत्यारको योजना बनाउने मुख्य योजनाकार रहेको प्रहरी स्रोतले जनाएको छ।

उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको थियो ।
कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेर गोली प्रहार गरेका थिए ।
कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।

बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्ज स्थित वयोधा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।