
जनकपुरधाम- सर्लाहीको हरिपुर नगरपालिका प्रमुख गोपाल पंजियारले हरिपुर नगरपालिकालाइ मधेशकै दोश्रो र सर्लाही जिल्लाको पहिलो बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिबद्दता जनाएका छन् ।
शुक्रवार 'बालविवाहमुक्त हरिपुर नगरपालिका' विषयक कार्यशाला गोष्ठीमा आफ्नो धारणा राख्दै उनले बालबालिकाको संरक्षण गर्ने दायित्व सरकारको रहने र स्थानीय सरकार प्रमुखको रुपमा हरिपुर नगरपालिकाले बालबालिकाको संरक्षणमा निरन्तर लागिरहने बताए । सबै सरोकारवालाहरुको साथ र सहयोगले समाजमा व्याप्त अशिक्षा र गरीवि विरुद्ध दीगो रुपमा कार्य गरिने र बालबालिकाको अधिकारको रक्षा गर्ने बताउदै प्रमुख पंजियारले आफ्नो कार्यकाललाइ अमर बनाउने गरी कार्य गर्न अन्य जनप्रतिनिधिहरुलाइ आव्हान समेत गरे ।
कार्यशालामा बालविवाह, बालविवाह विरुद्धको कानूनी व्यवस्था, बालविवाह विरुद्ध तीनै तहका सरकारका हालसम्मका प्रयासहरु तथा यसका लागि स्थानीय सरकारको भूमिकाबारे छलफल गरिएको नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एवम् बालकल्याण अधिकारी सुधा काफ्लेले बताइन् । बालविवाह विरुद्धको अभियानको थालनी आजैबाट शुरु भएको बताउँदै काफ्लेले आगामी दिनमा गरिने कामहरुको विस्तृत कार्ययोजना निर्माण गरिएको र बालविवाहमुक्त क्षेत्र घोषणा कार्यविधि तर्जुमाका लागि मस्यौदा समिति समेत गठन भइसकेको जानकारी दिइन्।
बालविवाह विरुद्धको नीतिगत तथा कानूनी व्यवस्था बारे जानकारी गराउने, पालिकाको अभियान र बालविवाहमुक्त वडा र नगरपालिका घोषणाका लागि आवश्यक कार्यविधि निर्माण गरी प्रक्रिया र सूचकहरु तयार गर्ने तथा आगामी दिनका लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले १ दिने कार्यशालाको आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्कीले जानकारी दिए । नगरपालिकाका प्रमुख, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरु सहितका जनप्रतिनिधिहरु, प्रमुख प्रशमसकीय प्रमुख सहित विषयगत शाखाका प्रमुखहरु, विषयगत समितका संयोजकहरु, स्थानीय तथा वडा बालअधिकार समितिका पदाधिकारीहरु बालक्लब सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा हरिपुर नगरपालिकामा बालविवाहको अवस्था र यस विरुद्धका प्रयासहरुबारे शिक्षा शाखा प्रमुख नागेश्वर राय यादव तथा बालविवाह विरुद्धको कानूनी व्यवस्था, संघ, प्रदेश र स्थानीय तहका प्रयासहरु एवम् बालविवाह विरुद्धको अभियान सञ्चालनका विविध प्रक्रिया/आयामहरुबारे सेभ द चिल्ड्रेनका झम्केश्वर ओझा र कान्ति खड्काले प्रस्तुतिकरण गरेका थिए।
कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा सर्लाही जिल्लाका दुइ स्थानीय तहहरु हरिपुर र इश्वरपुर नगरपालिकामा 'समुन्नति कार्यक्रम' सत्र्चालन गरिरहेको ग्रामीण नारी उत्थान मञ्चका उपाध्यक्ष सूर्य चालिसेले नगरपालिकाले शुरु गरेको बालविवाह विरुद्धको यो अभियानमा आर्थिक तथा प्राविधिक सहयोग जारी रहने प्रतिवद्धता जनाएका थिए ।बालबालिका केन्द्रित भएर बालसंरक्षण, स्वास्थ्य, शिक्षा, गरिवी निवारण लगायतका क्षेत्रमा पालिकाको नेतृत्वमा विगत ६ वर्षदेखि सहयोग गरिरहेको समुन्नति कार्यक्रमकी बालसंरक्षण अधिकृत सुजाता शर्माले बताइन् ।
मधेश प्रदेशका १३६ वटा स्थानीय तहहरुमध्ये हालसम्म सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका मात्र बालविवाहमुक्त पालिका घोषणा भएको छ भने अन्य एक दर्जन स्थानीय तहहरुले घोषणा गरेरै यस विरुद्धको अभियान सञ्चालन शुरु गरेका छन् ।