
जनकपुरधाम- आरती साह हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का हेडक्वाटर तानिएका छन् ।
आरती साह हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले एसपी खड्कालाई हेडक्वाटर तान्न सुझाएको थियो ।
खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले बताए ।
उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंबाट धनुषा सरुवा भई गएका थिए ।
आरती साहको हत्यापछि प्रहरीले सुरुमा जाहेरी दिन मानेको थिएन । पीडित परिवारमाथि नै प्रहरीको कुटपिट र मोबाइल जफत गरेको थियो ।
आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो ।
त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे ।
सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन । घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो ।