विराटनगरमा रहेको कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुधबार विराटनगर-७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी भएको हो। आगलागीमा विराटनगर-६ का ४० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका एक जनाको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए। मृत्यु भएका मण्डल गोदामधनी भएको दाहालले जानकारी दिए।



आगगामीमा परेर विराटनगर-६ की ६५ वर्षीया सुशीला पासवान र ६० वर्षीया रिता सदरदार गम्भीर घाइते भएका छन्। त्यस्तै, विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान र कटहरीकी ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते भएका चारै जनालाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको प्रहरीले जनाएको छ।
बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दाहालले बताए। प्रहरी नायव उपरीक्षक दाहालका अनुसार, कवाडीका सामान लिएर आउने एक महिलाले शरीरमा लगाउंने सेन्टको बोतल थिच्ने क्रममा नजिकै रहेका एक ब्यक्तिले चुरोट सल्काउँदा आगो लागेको पाइएको छ।
बस्ती बीचमा रहेको कपाडी खानामा टिन, फलाम, प्लास्टिक, तामा, पित्तल लगायतका पुराना सामान खरीदबिक्री हुँदै आएको थियो। यो घटनाले कवाडीखाना सञ्चालनको अनुमति दिने निकाय सचेत हुनुपर्ने देखाएको बुद्धिजिवी सोमनाथ अधिकारी बताउँछन्। सांघुरो ठाउँमा तीन जनाले अलगअलग कवाडीखाना सञ्चालन गरेका थिए।
यो घटनापछि विराटनगर महानगरले यसखाले गोदामले सुरक्षाको मापदण्ड अनिवार्य अपनाउनु पर्ने निर्णय गरेको छ। सातघुम्तीमा रहेका कवाडीखाना हटाउँन यसअघि पनि महानगरले आग्रह गरेको थियो। अब कुनै पनि कवाडीखाना र गोदामको सुरक्षा मापदण्ड अपनाएको हेरेर मात्रै अनुमति दिने निर्णय गरिएको मेयर नागेश कोइरालाले बताए।




