
जनकपुरधाम- मधेश प्रदेशमा महिलालाई आर्थिक, सामाजिक रुपमा सशक्त बनाउने उद्देश्यले “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको लागु भएको छ ।
मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेशको ६ वटा जिल्लाका १२ वटा पालिकामा सञ्चालन हुने कार्यक्रममा युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू युएनएफपिए, आइ एल ओ, युएन वुमन र युनिसेफले प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम लागु भएको छ ।
“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रम मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुर गाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगंज महानगरपालिका,आदर्श कोतवाल गाउँपालिका गरि १२ वटा स्थानीय तहहरूमा सञ्चालन हुनेछ ।
लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र मूल्य शृङ्खला प्रवर्धन र लैङ्गिक उत्तरदायी शासन तथा महिला प्रतिनिधिहरूको नेतृत्व विकास नै कार्यक्रमको मुख्य तीन प्राथमिकताहरू रहेको संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
मधेश प्रदेशका अतिरिक्त कर्णाली र सुदूरपश्चिम प्रदेश गरेर ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन गरिने भएको छ। परियोजना १ करोड ९५ लाख अमेरिकी डलर लगानी गरिने भएको छ ।
मधेश प्रदेशमा कार्यक्रमको शुभारम्भ गर्दै मधेश प्रदेशका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा कुमारी यादवले मधेशमा महिला सशक्तीकरणका लागि शुरु भएको कार्यक्रमको सराहना गर्दै प्रदेश सरकारले महिला हिंसाको नियन्त्रण गर्नका लागि महिला तथा बालबालिका सम्बन्धि कानूनको निर्माणका गर्नुका साथै सरकारी सेवामा प्रवेशका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनु भयो ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले मधेशमा शिक्षा कमजोर नभएको बताउँदै महिला माथि हुने गरेको विभेदहरू नयाँ पुस्तामा नेतृत्व आएपछि स्वतः कमी आउने विश्वास व्यक्त गर्नु भयो । मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्रले मधेश प्रदेशमा तुलनात्मक रुपमा पछाडि परेको महिलालाई सशक्त बनाउनका लागि शुभारम्भ भएको परियोजनाले लक्ष्य अनुसार काम गर्ने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै युएन वमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेको, युरोपियन युनियनका नेपालका डेपुटी हेड अफ कोअपरेसन ईलोईजा आस्टुडिलो सहितले नयाँ शुरु भएको परियोजनाले प्रदेशमा महिला सशक्तीकरणमा सहयोग पुग्ने बताउनु भयो ।