जनकपुरधाम – जनकपुरधामस्थित मोनाष्टिक स्कूलले भव्यतापूर्वक आफ्नो ३८औँ वार्षिकोत्सव मनाएको छ । शिक्षा क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल मोनाष्टिकले आफ्नो ३८औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाएको हो । वार्षिकोत्सवको शुरुवात पोस्टर मेकिङ्ग प्रतियोगिताबाट भएको थियो । जसमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई संलग्न गराइएको थियो। युवा दिमागहरूले रंगीन कलाकृतिले विद्यालयलाई सजाउँदा रचनात्मक अभिव्यक्तिहरू फस्टाएको थियो । यसका साथै वृक्षारोपण कार्यक्रमको समेत आयोजना गरियो ।
विद्यालयको वातावरणीय उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै विद्यार्थी र इको क्लबका सदस्यहरूले जुनियर मोनाष्टिकमा ३८ र सिनियर मोनाष्टिकमा ३८ गरी जम्मा ७६ वटा रुख रोपेका थिए । उत्सव तेस्रो दिन पनि जारी रह्यो । जहाँ विद्यालयका पूर्व विद्यार्थीहरू समेत सहभागी थिए । प्लेग्रुपदेखि एलकेजीसम्मका करिब ४५० युवा कलाकारहरूले सांस्कृतिक नृत्य, भाषण र नाटकीय प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाए।

धनुषा निर्वाचन क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमलाई सम्मान प्रदान गरिन् । त्यस्तै, चौथो दिनको शुभारम्भ रक्तदान कार्यक्रमबाट भएको थियो । रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरू सहभागी भएका थिए । लगभग ३५० कर्मचारी सदस्यहरूको सहभागितामा वार्षिक दिवसको भव्य समापन भएको हो । कार्यक्रमको अध्यक्षता मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णकुमार यादवले गरेका थिए ।
विद्यालयको लागि एक दशकभन्दा बढी समयदेखि समर्पित रूपमा सेवा गरिरहेका ५५ जना शिक्षक र कर्मचारीलाई मोनाष्टिक स्कूलको यात्रामा उनीहरूको बहुमूल्य योगदानको कदर गर्दै प्रमाणपत्रले सम्मानित गरिएको थियो । विद्यालयको वार्षिकोत्सव समारोह प्रतिभा, वातावरणीय चेतना र सामुदायिक सेवाको मिश्रणलाई समेटेर भ्व्यताका साथ समापन भएको थियो ।


