काठमाडौं । जिउँदै मानिस जलाएर हत्या गरेको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
रौतहट जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो । बहस नोट प्राप्त भएसँगै सुनुवाइको तयारी गरेको रौतहट जिल्ला अदालतले जनाएको छ ।
आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीसो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो ।
वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले मंसीर २४ गते नै बहस नोट बुझाएका थिए । २०७६ साल १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । इट्टाभट्टामा जिउदै मानिस जलाएर हत्या गरेको अभियोग छ ।
२०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटको राजापुरमा बम विस्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलम जेल पुगेका हुन् ।





