
सुनिता बराल,महोत्तरी - भंगाहा नगरपालिका–४ बनरा थारुटोलका १ सय ८७ सुकुम्बासी परिवार अहिले न्यायका लागि भौंतारिएका छन् । सुकुम्बासी समस्या समाधानका लागि २०५१ सालमा बनेको आयोगले नै आफूहरूमाथि अन्याय गरेको भन्दै बस्तीका बासिन्दा न्यायको माग गरिरहेका हुन् ।
चार पुस्तादेखि खनजोत गरेर बसेको जग्गा खाली गर भन्दै अन्य मानिस लालपुर्जा लिएर आउन थालेपछि आफूहरू निकै समस्यामा परेको स्थानीय ७० वर्षीया रामसुनरदेवी थारुले बताइन् । २००५ सालमा आफ्ना पुर्खाले फाँडेर बसेको जग्गाको पुर्जा नदिएर सरकारले आफूमाथि ठूलो अन्याय गरेको उनले बताइन् ।
‘हाम्रो जग्गा ठूला मान्छेले नै आफ्नो नाममा पुर्जा बनाएर बैंकबाट ऋण खाएका रहेछन्,’ उनले भनिन्, ‘घर छ तर लालपुर्जा छैन, गरिब मान्छे हामी अलपत्र परेका छौं । बैंकले आएर उठ, हाम्रो जग्गा हो भन्छ, बालबच्चा लिएर अब कहाँ जाऊँ ?’
१० कट्ठा जग्गा भोगचलन गर्दै आएका रामप्रवेश साहले जलेश्वरबाट नचिनेका मानिस आएर मेरो जग्गा हो, खाली गर भन्दै दबाब दिने गरेको बताए । जग्गा मेरो हो भन्दै मानिसहरु आइरहेको र तिनलाई आफूले नचिनेको फूलोदेवी पंजियारले पनि सुनाइन् । उनी सोही बस्तीमा बस्न थालेको ५० वर्षभन्दा बढी भइसकेको छ । उनले बस्तीको पाँच कट्ठा जग्गा उपभोग गरिरहेकी छन् ।
लालपुर्जा पाउने आशमा रहेकी उनी अहिले घरजग्गा खाली गराउन थरिथरिका मानिस आउने गरेको बताउँछिन् । ‘पहिले जग्गा मेरो भनेर कोही आउँदैनथे,’ उनले भनिन्, ‘अचेल मेरो जग्गा भन्दै थरीथरीका मान्छे आउन थालेका छन् ।’

२०५४ सालमा सुकुम्बासी समस्या समाधान गर्न बनेको आयोगले नै थारुटोलको जग्गा मनोमानी तबरबाट बस्ती बाहिरका मानिसलाई वितरण गरेको स्थानीय बताउँछन् । बस्तीका वास्तविक सुकुम्बासी पहिचान गरी जग्गा वितरण गर्नुपर्नेमा आयोगले भूमाफियाको सहयोगमा आफन्त, कर्मचारी, नातागोताका नाममा जमिनको पुर्जा बनाइदिँदा समस्या भएको स्थानीय मुकुन्द दाहालले बताए ।
बर्दिवास मालपोत कार्यालयमा दर्ता भएको जग्गाको विवरण अनुसार तत्कालीन भूमि आयोग महोत्तरी जिल्ला अध्यक्ष विश्वनाथलाल कर्णले बस्तीको १५ कट्ठा जग्गा आफ्नी श्रीमती रीतादेवीका नाममा दर्ता गरेको पाइएको छ । आयोगका जिम्मेवार व्यक्तिले आफन्तका नाममा जग्गा रहेको विषय बाहिरिएपछि कर्णले २०७८ साउन ११ गते जनप्रतिनिधिको सहयोगमा उक्त जग्गा अरुलाई बिक्री गरिसकेका छन् ।
भंगाहा–४ बाट चारकिल्ला प्रमाणित गराई २०७७ मंसिर २५ गते मालपोत कार्यालयलाई तत्कालीन वडाध्यक्ष अशोककुमार महतोले दिएको सिफारिसपछि लालपुर्जा लिएर कायस्थको नामबाट सुरजलाल श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालय बर्दिवासका सूचना अधिकारी ओमप्रकाश खड्काले जानकारी दिए । कर्णकी श्रीमती रितादेवीबाट कायस्थको नाममा नामसारी भएको १५ कट्ठा जग्गा अहिले सेन्चुरी कमर्सियल बैंकले रोक्का राखेको मालपोत कार्यार्लयले जनाएको छ ।
तत्कालीन वडाध्यक्ष महतोले भने कानुन अनुसार जग्गाको कागजातका आधारमा मालपोतलाई सिफारिस गरेको बताए । उनले भने, ‘तत्कालीन भूमि आयोगका अध्यक्ष कर्णका श्रीमान्–श्रीमती दुवै आएका थिए, जग्गाको लालपुर्जा निकाल्नु छ भनेपछि कागजातका आधारमा सिफारिस दिएको हुँ ।’
सुकुम्बासी बस्ती भएको आफूलाई जानकारी भए पनि बस्तीबाट कुनै उजुरी र दाबी नपरेकाले आवश्यक कागजपत्र लिएर आएपछि आफूले सिफारिस दिनु कानुनी बाध्यता भएको महतोले बताए ।
मुसहर, बातर, चमार र थारु जातिको बाहुल्य रहेको उक्त बस्तीको जग्गा आयोगले पर्सा, भोजपुर, धनुषा र महोत्तरीको एकडारा, खुट्टा पिपरारी, सुगा भवानीपट्टि, डामी मडैहलगायतका ठाउँका मानिसको नाममा लालपुर्जा बनाएर वितरण गरेको पाइएको सामाजिक अभियन्ता संघर्ष दाहालले बताए ।
बस्तीका बासिन्दालाई छाडेर अर्कैको नाममा जग्गा सारेर भएको अन्यायविरुद्ध आफू लागिरहे पनि सरकारले अर्को आयोग गठन गरेर काम अघि नबढाएसम्म निर्णय बदर हुन नसक्ने भएकाले पीडितका तर्फबाट अर्को आयोग गठन गरी समस्या समाधान गरिदिन सकारलाई आग्रह गरेको दाहालले बताए ।
एकै व्यक्तिले २ बिघा १५ कट्ठासम्म जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । २०४४ देखि जिल्ला प्रशासनमा कार्यरत सवारी चालकका नाममा समेत जग्गा दर्ता भएको देखिएको छ ।
मालपोतको तथ्यांकमा सुकुम्बासी बस्तीको १ बिघा जग्गा प्रशासन कार्यालयका कर्मचारी भोजपुर घर भएका हरिबहादुर श्रेष्ठका नाममा दर्ता छ । त्यस्तै महोत्तरी रघुनाथपुर–३ की पुनम कुमारीका नाममा भएको एक बिघा जग्गा ०७८ असार २७ गते मात्रै शत्रुधनप्रसाद कर्णले पुनम कुमारीको नाममा नामसारी गरेका छन् ।
वीरगन्जका गौरी शंकरको नाममा १५ कट्ठा, जलेश्वर–७ का भिखारी मण्डलका नाममा १५ कट्ठा, महोत्तरी लोहारपट्टीका राजकिशोर साहको नाममा १३ कट्ठा, बथनाहाका जितेन्द्र ठाकुरका नाममा १० कट्ठा, धनुषा हाजीपुरका महावीर महतोका नाममा ७ कट्ठा र अन्यका नाममा पनि यसरी थारुटोलको जग्गाको पुर्जा बनेको मालपोत कार्यालयको तथ्यांकमा देखिन्छ ।
सुकुम्बासी बस्तीको ४५ बिघा जग्गा अरुको नाममा दर्ता गरेको भन्दै बस्तीका स्थानीय केही वर्षदेखि न्यायका लागि हारगुहार गरिरहेका छन् । मालपोतबाट जग्गाको कारोबार तत्काल रोक्न माग गर्दै दुई वर्ष पहिले बर्दिवास नगरपालिकालाई अनुरोध गरेका थिए ।
स्थानीयको अनुरोधपछि मालपोतलाई जग्गाको कारोबार तत्काल रोक्न बर्दिवास नगरले पत्र काटेको थियो । तर बर्दिवासले अनुरोध गरे पनि आयोगले नै गरेको कामलाई स्रेस्ता छ भने बाध्य भएर काम गर्नुपर्ने मालपोतका सूचना अधिकारी खड्काले बताए । मेरो जग्गा भनेर थारुटोलका स्थानीय उजुरी र दाबी गर्न नआएका र भएको कागजातका आधारमा काम नगर्दा म यो कारण काम गर्न सक्दिनँ भन्ने आधार नभएपछि काम गरेको खड्काले बताए ।

मालपोतबाट जग्गाको कारोबार गर्न रोक्ने अवस्था नभएपछि अहिले पनि जग्गाको कारोबार भइरहेको खड्काले बताए । थारुटोलकै कित्ता नं. ४ सय २ को कमला गिरीको नामको जग्गा किनबेच भएको छ । गिरीको नामको १० कट्ठा जग्गा २०८० कात्तिक २० गते सञ्जयकुमार साहका नाममा नामसारी भएको छ ।
जग्गाको वास्तविक हकवाला भएको दाबी गर्दै स्थानीयले विभिन्न सरोकारवाला निकायमा पुगे पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । केन्द्र सरकारको भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयमा पुगेर जग्गासम्बन्धी समस्या राखे पनि न्याय पाउन नसकेको स्थानीय कैलाश चौधरीले बताए ।
२०५४ को सुकुम्बासी समस्या समाधान आयोगको निर्णय अभिलेख र प्रमाण पुर्जा तत्काल खारेज गर्नुपर्ने, जग्गाको वडा र नगरबाट सिफारिस दिन बन्द गर्नुपर्ने, पहिला जारी भएका पुर्जा खारेज र सुकुम्बासीले जोतभोग गरेका आधारमा पुर्जा दिनुपर्ने माग आफूहरूको रहेको चौधरीले बताए ।-कान्तिपुर