
महोत्तरी - बेमौसमी वर्षाका कारण महोत्तरीका इँटा उत्पादक व्यवसायीहरुलाई क्षति पुगेको छ। वर्षाका कारण इँटा उत्पादक व्यवसायीलाई करोडौँको नोक्सान भएको छ। बुधबार बिहानैदेखि परेको पानीले पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट हुँदा जिल्लाभरका इँटा उत्पादकलाई करिब ६ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक संघ महोत्तरीले जनाएको छ। मौसममा परिवर्तन भई बुधबार परेको पानीले सुकाएर राखिएको इँटामा क्षति पुर्यारएको इँटा व्यवसायी बताउँछन्।
वर्षाका कारण पोल्न तयार पारिएको इँटामा क्षति पुगेर एउटा भट्टामा मात्रै करिब २० लाखको क्षति भएको व्यवसायीहरूको भनाइ छ। वर्षभरी बेच्नका लागि तयार भइरहेको इँटा पानीले नष्ट गरेपछि इँटा व्यवसायीहरू आर्थिक समस्यामा परेका छन्। बिहानैदेखि परेको पानीले गर्दा आफ्नो इँटा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ८ लाख बराबरको इँटा भिजेर नष्ट भएको औरही नगरपालिकाको वडा नं.२ मा रहेको न्यु बाबा इँटा उद्योगका सञ्चालक हरि नारायण यादवले जानकारी दिए।
त्यस्तै औरही नगरपालिकाको वडा नं.७ अन्तर्गत पर्ने न्यु मिथिला इँटा उद्योगको पनि वर्षाले गर्दा करिब २० लाख बराबरको इँटा गलेर क्षति पुगेको सञ्चालक रामबाबु चौधरीले बताए। पोल्न तयार पारिएको सम्पूर्ण कच्चा इँटा नष्ट भएकाले उद्योगीहरू ठूलो आर्थिक संकटमा परेको रामगोपालपुर नगरपालिका ७ मा रहेको रोयल स्टार इँटा उद्योगका सञ्चालक एवम् महोत्तरी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष संजय चौधरीले बताए।अध्यक्षले भने मेरो आफ्नै इँटा उद्योगमा करिब १० लाख बराबरको इँटा भिजेर नष्ट भएको छ।
उनले बेमौसमी वर्षाका कारण महोत्तरीका सबै इँटा उद्योगीको कच्चा इँटा नष्ट भएकाले उद्योग बन्द गर्ने अवस्था आएको बताए।