धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले जनप्रतिनिधि एक ढिक्का भए मात्र स्थानीय तहको विकास सम्भव रहेको बताएका छन् ।
शुक्रबार वीरेन्द्र बजारमा गणेशमान चारनाथ नगरपालिकाको १२ औं नगर अधिवेशनमा बोल्दै उनले जनप्रतिनिधिबीचको आपसी एकता र मेलमिलापले मात्र पालिकाको समग्र विकासको यात्रा कहिलेपनि नरोकिने जानकारी दिए ।



उनले धर्मग्रन्थको एक श्लोक सुनाउँदै भने, “जुन ठाउँमा एकता र मेलमिलाप छ त्यो ठाउँमा कुनै किसिमको समस्या हुँदैन । तर, जहाँ आपसमा फुट छ त्यहाँ समस्यै समास्यले ग्रसित हुन्छ । त्यसैले जनता र ठाउँको विकास गर्न हामी मिल्नुको विकल्प छैन् ।”
उनले स्थानीय तहको दोस्रो निर्वाचन भएर आएको पहिलो वर्ष लक्ष्यअनुसार विकासका कामहरु सम्पन्न भएपनि दोस्रो वर्षमा जनप्रतिनिधिबीचको फुटले गर्दा चालू आर्थिक वर्षमा विकास निर्माणको काम शुल्य रहेको भने । जनप्रतिनिधिबीचको मतभेद र पटक पटक फेरिएका प्रमुख प्रशासकीय अधिकृतका कारणले पनि यसवर्ष विकास निर्माणको काम अगाडि बढ्न नसकेको सुनाए ।
नगर प्रमुख यादवले जनताले हामीलाई नगरको विकास गर्न निर्वाचित गरेर पठाएको भन्दै नगर प्रमुख यादवले त्यसका लागि सबैजना एकजुट भएर लाग्नुपर्ने र कुनै विषयमा मतभेद देखिए गहन छलफलबाट समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।
अधिवेशनमा कार्यपालिका सदस्यहरुले खानेपानी, शिक्षा, स्वास्थ्य र अवैध उत्खनन र भौतिक संरचना निर्माणका विषयमा उठाएका प्रश्नहरुको जवाफ दिँदै भने कमला खोला ठेक्का लागेको भएपनि ठेक्कै नलागेको खोलाहरुबाट भइरहेको अवैध उत्खनन रोक्न प्रहरी प्रशासनले सहयोग नगरेको बताए ।
नगरसभामा नगरपालिकाकी नगर उपप्रमुख तुलसाकुमारी पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
नगर प्रमुख एवं सभाध्यक्ष यादवले संशोधन नगर सभा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका नगर कार्यपालिकाका सदस्यहरु, नगर सभा सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरु एवं कर्मचारीहरुलाई धन्यवाद दिदै नगरपालिकाको चालु अधिवेशनको अन्त्य गर्नुभयो ।




