जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सशक्त र दृढ भएर अघि बढ्ने बताएका छन् ।
मधेश प्रदेशसभाबाट मंगलबार विश्वासको मत हासिल गरेपछि मुख्यमन्त्री यादवले जनमत पार्टीले सदनमा अराजक र उपद्रवी काम गरेको आरोप लगाए । विश्वासको मत लिने मुख्यमन्त्रीको संवैधानिक प्रावधान बिथोल्नेगरी विश्वासको मत प्रस्ताव गर्ने दिनमा अन्य प्रस्ताव ल्याउनु नै अनुपयुक्त भएको उनले जिकिर गरे ।
मुख्यमन्त्री यादवले जनमत पार्टीले सदनलाई अशान्त बनाएकोमा आफू दुःखी भएको समेत बताए ।उनले मुख्यमन्त्रीका रूपमा आफूले चारपटक विश्वासको मत लिनुपरेको उल्लेख गर्दै अन्य प्रदेशको तुलनामा मधेश प्रदेश सरकारले राम्रो काम गरेको दाबी गर्दै आगामी दिनमा सरकारका कामकाज थप प्रभावकारी बनाउन योजनाबद्ध ढंगले अघि बढ्ने बताए ।