महोत्तरी- गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् । गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसगै पुनः साइबेरिया नै फर्कने गरेका छन् । गौशाला इलाका प्रहरी कार्यालय परिसर र त्यसका वरिपरि क्षेत्रमा रहेका रुखहरुलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेको साइबेरियन बकुल्लालाई हेर्न अहिले यहाँ मानिसको भीड लागने गरेका छन् ।
मानिसको भीडलाई हेर्दा यहाँ चरा महोत्सव भएजस्तै लागने गरेको छ । गर्मी र वर्षा्तको मौसमको सुरुवातसँगै यहाँ आउने र असोजको अन्तिम सम्ममा फर्कने गरेको प्रत्यक्षदर्शी स्थानीयवासी बिरेन्द्र यादवले बताएका छन्। वर्षेनि नेपालको यस क्षेत्रमा मात्र किन आउँछन् कौतुहलताको विषय भएता पनि सो कुरा अझै पत्ता लागेको छैन । नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनि गर्मी मौसमको शुरुवातसँगै आउने र असोजको अन्तिमसम्ममा फर्कने गरेको स्थानीय अजय साहले बताए । बकुल्लाजस्तै देखिने सेतो रङ्गका यी चरा बकुल्ला प्रजातिको भएको र यी चारा छ महिनासम्म गर्मी र वर्षा हुने स्थानमा बसाइँ सर्ने गरेका छन् ।
यी चराका लागि अहिले प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको बताइएको छ । विगत सात वर्षदेखि यी चरा यस स्थानमा आउने गरेको भएपनि यस क्षेत्रमा भएका रुख दिनप्रतिदिन पातलिँदै गएपछि यसको बासस्थान संकटमा पर्न लागेको जनगुनासो आएपछि अहिले त्यस क्षेत्रमा वृक्षरोपण पनि शुरु गरिएको छ । उक्त चराको वासस्थानलाई संरक्षण गर्न सके यसले वातावरण र पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास स्थानीयवासीको छ ।
साइबेरियन बकुल्लाले नदी किनारको छिपछिपे पानी भएको ठाउँ र ओरपरका पोखरी पाहुना चराले चरण क्षेत्र बनाएका छन् । पानीमा तैरिने लेउ, साना भुरा माछा र किरा फट्याङ्ग्रा नै पाहुना चराको आहारा हुने गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले भने पाहुना चराको रेखदेख, संरक्षण र हेरचाहमा समुचित ध्यान दिइँदै आइएको बताउनुहुन्छ । “हामीले पाहुना चराको सक्दो हेरचाह गरेका छौँ”, प्रनि यादवले भन्नुभयो, “गुलेली चलाउने, चरा जिस्क्याउने र घुँयत्रो हान्नेजस्ता चरा बिच्क्याउने काम परिसरभित्र पूर्णवर्जित छ ।” यद्यपि यहाँ आउने चराका विविध पक्षबारे अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता औल्याइएको छ ।