महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् ।
मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो ।आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ ।



१२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।मुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्युमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ता टोलका १ सय १० घर पूर्ण रुपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको बारुणयन्त्रसंगै नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले बताए । सो क्रममा तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ७ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेको विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।
मेयर हरिप्रसाद मण्डलले आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताएका छन् । तर आगलागीमा ५ वटा बाख्रा र दुईवटा सुँगुर मरेको उनले बताए।
आगो लागेको बस्तीमा पशु चौपायासंगै स्थानीयको धनमाल पूर्णरुपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भने भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
अग्नीपीडितलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा रेडक्रससंगै विभिन्न निकायसँग समन्वय भइरहेकाले आवश्यक राहत सहित तत्काललाई विद्यालय र धर्मशालाहरुमा बस्ने व्यवस्था गरिने गेलालले बताए ।
मटिहानीका जनतालाई ठूलो विपद् परेकाले सबैले यो दुखमा सहयोग गरिदिन मेयर मण्डलले सबैमा अनुरोध गरेका छन् ।
यो पनि पढ्नुहोस :
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ जरलहवा टोलमा भिषण आगलागी भएको छ
https://shirishnews.com/2024/04/24/59116/





























