महोत्तरी – नेपाल औषधी व्यवसायी संघ महोत्तरी जिल्ला कार्य समितिको दोश्रो अधिवेशनबाट पदाधिकारीहरु निर्विरोध चयन गरिएको छ ।जिल्लाको सदरमुकाम जलेश्वरको उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजना गरिएको दोश्रो अधिवेशनबाट अजय कुमार साहको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारीहरु निर्विरोध चयन भएको निर्वाचन अधिकृत ज्ञानेन्द्र कुमार लाल कणर्ले जानकारी दिनुभयो ।
उहाँले समितिको वरिष्ठ उपाध्यक्षमा लव कुमार सिंह, थोक उपाध्यक्षमा मनोज कुमार गुप्ता, खुद्रा उपाध्यक्षमा अरुण कुमार पाठक, महासचिवमा जय प्रकाश जालान, कोषाध्यक्षमा दिपक बहादुर कार्की निर्विरोध चयन भएको जानकारी दिनुभयो । त्यसैगरी सचिवमा प्रशान्त कुमार गुप्ता, उप कोषाध्यक्ष्ँमा मणिभुषण ठाकुर, सदस्यहरुमा उमाशंकर प्रसाद साह, कामेश्वर मिश्र, रामअधिन महतो, चन्द्रमोहन कनौजिया तथा नागेन्द्र साह निर्विरोध चयन भएको हो । समितिमा अन्य दुई सदस्य पछि अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।




यसैबीच, दोश्रो जिल्ला अधिवेशनको उदधाटन सत्रमा अधिकाँश वक्ताहरुले औषधी व्यवस्था विभागले औषधी व्यवसायीहरुलाई दुःख दिने कार्य मात्रै गरेको आरोप लगाएका छन् । उनीहरुले एकजुट भएर लाग्ने हो भने यस्ता कार्यहरुलाई सहजीकरण गर्न सजिलो हुने उपाय समेत सुझाएका छन् ।नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले नियमनको नाममा औषधी व्यवसायीहरुलाई दुःख दिने र मनोवल कमजोर बनाउने कार्यहरु भइरहेको बताउनुभयो । उहाँले आफुहरु औषधी व्यवसायीहरुको समस्या समाधानको लागि सदैव पहल गरिरहेको जानकारी दिनुहुदै एकजुट भएर लाग्ने हो भने समस्याहरु समाधान गर्न सहज हुने वताउनुभयो ।
उहाँले औषधी व्यवसायीको क्षेत्रमा प्राविधिक तालिम अत्यन्तै महत्व रहेको बताउनुहुदै संघले सदैव तालिम सञ्चालन गरिरहेको र यसले जिल्ला समितिका सदस्यहरुलाई समेत फाइदा हुने वताउनुभयो ।कार्यक्रममा विशेष अतिथी जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले अलिकति पनि साँस रहेको मान्छेलाई जिवन्त तुल्याउन औषधीको महत्वपूणर् योगदान रहेको बताउनुहुदै औषधी जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा काम गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले जलेश्वर क्षेत्रमा समेत अनुगमन आउँदा औषधी पसलको सटरै बन्द गरेर भाग्नुपर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी रहेको र यसमा जलेश्वर नगरपालिका र औषधी व्यवसायी संघले संयुक्त पहल गर्न जरुरी रहेको बताउनुभयो ।

औषधी व्यवसायी संघका धनुषा अध्यक्ष प्रमोद अग्रवालले कुनै बेला नबेच्ने औषधी किन बेचेको ? कुनै बेला अन्य औषधी किन बेचेको ? लगायतका विभिन्न नाउँहरुमा विभागले व्यवसायीलाई दुःख दिने काम गरेको बताउनुहुदै यसको विरुद्ध संगठनहरुले एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो ।औषधी व्यवसायीहरुलाई जुन औषधी वेच्नुपर्ने छैन त्यो औषधी विभागले उत्पादन नै नगर्नुपर्नेमा जोड दिनुहुदै उहाँले यस कार्यमा औषधी व्यवसायीका संगठनहरु मौन बसेको आरोप समेत अग्रवालले लगाउनुभयो ।
उहाँले सिमावर्ती क्षेत्रहरुमा साना साना औषधी व्यवसायीहरुले भारतीय बजारहरुबाट सानो सानो झोलामा औषधीहरु खरिद गरेर ल्याउनु गलत भएको वताउनुहुदै यस्तो कार्य नगर्न आग्रह गर्नुभयो । सुरक्षा निकायले पटक पटक व्यवसायीहरुलाई यस्तो आग्रह गरेपनि औषधी विक्रेताहरु अटेरी गरिरहेको बताउनुहुदै अग्रवालले भारतीय क्षेत्रबाट ल्याउने कतिपय औषधीहरु सक्कली नहुने र यसले सुरक्षा निकायको थ्रेट समेत दिने भएकोले सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा औषधी व्यवसायी संघ मधेश प्रदेशका महासचिव पप्पु कुमार झाले संविधानले स्थानीय तहहरुलाई समेत अनुगमनको अधिकार दिएपनि स्थानीय तहहरुले सुविधा दिएर मात्रै अनुगमन गर्न आग्रह गर्नुभयो । सुविधा नदिने तर अनुगमन मात्रैले समस्या समाधान नहुने भएकोले औषधी व्यवसायीहरुलाई व्यवस्थित गर्ने कार्यमा स्थानीय तहले सहयोग गर्न आग्रह गर्नुभयो ।नेपाल औषधी व्यवसायी संघ जिल्ला कार्य समिति महोत्तरीका अध्यक्ष अजय कुमार साहको सभापतित्वमा भएको थियो ।




