
जनकपुरधाम- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेश प्रदेशमा श्रमाधान रोजगार मेला उद्घाटन् गर्दै धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन् ।
शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए ।
'कुनै पनि कार्यक्रम गर्नुको पछाडी उदेश्य हुन्छ। त्यस्तै एउटा उदेश्य बोकेर श्रमाधान रोजगार मेला । उपायका रूपमा सुरू गरिएको हो । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो,' उनले भने ।
यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरू गरेका हौं। यो कार्यक्रम सुरूआत हो, उनले भने । भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ छ ।
देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेशको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको उनले बताए । मधेश प्रदेशका सबै नागरिकलाई यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे । उनले रोजगारीको खोजीमा भौतारिइरहेकाहरूलाई मेलामा सहभागिताका लागि आग्रह गरे ।
सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालको भनाइ छ । मन्त्रालयले अझ उत्कृष्ठ काम गर्ने पनि विश्वास दिलाए । केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासा राख्न आग्रह गरे ।