
जनकपुरधाम - विभिन्न आन्दोलनको क्रममा आफन्त गुमाएका सहिद परिवारहरूले राज्यबाट आफूहरूले पाउनुपर्ने सेवा तथा सुविधाहरू नपाएको गुनासो गर्नुभएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानले आज महोत्तरी जिल्लाको बर्दिबासमा जनआन्दोलन तथा द्वन्दपीडित परिवारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहिद परिवारका सदस्यहरूलाई राज्यले स्थायी रोजगारी दिनुपर्ने माग गरिएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट जम्मा हुनुभएका सहिद परिवारहरूले देशमा विभिन्न परिवर्तनका लागि आफ्ना आफन्तहरुले ज्यान गुमाए पनि त्यसपछि भएको राजनीतिक परिवर्तनपछि राज्यको तर्फबाट पाउनुपर्ने सेवा तथा सुविधा नपाएको बताउनुभयो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विरेन्द्र प्रसाद यादवले मधेशी सहिद प्रतिष्ठानले विभिन्न आन्दोलनको क्रममा शहादत दिएका परिवारलाई राहत दिने काम गरेको बताउँदै यस पटक राहतका लागि आएको बजेट अपुग भएकाले वितरण नगरेको बताउनुभयो ।
उहाँले मधेश प्रदेश सरकारको तर्फबाट दिने सहयोग क्षतिपूर्ति नभई राहत भएको बताउँदै यस वर्ष राहत रकम वितरण नगरे पनि अर्को पटक वितरण गर्ने बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै मन्त्रालयका उपसचिव उत्तम प्रसाद खरेलले मधेश प्रदेश सरकारले सहिद प्रतिष्ठान मार्फत हालसम्म ११ करोड ५० लाख राहत रकम वितरण गरेको बताउनुभयो । उहाँले स्थायी जागिर दिने कानून नै संशोधन आवश्यक भएको बताउनुभयो ।