
जनकपुर - उपेन्द्र यादव नेतृत्वको दल जसपा नेपाललाई मधेश प्रदेशमा दोस्रोपटक सत्ताको बाग्डोर सम्हाल्ने अवसर आएपछि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीले फेरि मुख्यमन्त्री बन्ने इच्छा राखे । मधेश प्रदेश सरकारको पहिलो कार्यकाल ५ वर्ष नै हाँकेका राउत आफैं फेरि मुख्यमन्त्री बन्नेमा आशावादी थिए ।
तर, आम–निर्वाचन ०७९ भन्दा करिब एक वर्षअघि जसपा नेपाल रोजेका मधेश प्रदेशका तत्कालीन सभामुख सरोजकुमार यादव पनि मुख्यमन्त्रीको दौडमा देखिए ।मुस्लिम समुदायका राउत पार्टी अध्यक्ष यादवका विश्वास पात्र हुन् । त्यसैले राउतलाई दोस्रो कार्यकालको मुख्यमन्त्री पनि आफू नै बन्नेमा ढुक्क थिए । जसपाको संसदीय दलको नेता छान्ने क्रममा पार्टी अध्यक्ष यादव भने खुलेर सरोजको पक्षमा उभिए ।
अध्यक्ष यादवले ‘नेता छान्न चुनाव भए सरोजलाई मत दिन’ सांसदहरुलाई दबाब नै दिए । राउतको जोडबल नचलेपछि उनले सरोजलाई ‘सहयोग’ गर्दै संसदीय दलको नेता बन्ने दौडबाट बाहिरिए ।प्रादेशिक संरचनाको पहिलो चुनाव ०७४ मा मधेश प्रदेशमा सबभन्दा ठूलो दल बनेको जसपा नेपाल दोस्रो चुनाव ०७९ मा भने तेस्रो दलका रुपमा खुम्चियो । जसपा नेपाललाई पछिल्लो चुनावमा सीके राउतको दल जनमत पार्टीले मधेशमा ठूलो धक्का दियो ।

'अलगाववाद' अभियानबाट मूल राजनीति धारमा फर्किएका राउतको दल जनमत मधेशमा १३ सिट जित्दै चौथो ठूलो दल बन्यो । जसपा नेपाल नेतृत्वको सरकारमा मधेशमा जनमतले सत्ता सहकार्य
गरेपनि यी दुई दलबीच राम्रो सम्बन्ध रहेन ।मधेशका ८ जिल्लामा यादव समुदायको जनसंख्या सबैभन्दा धेरै छ । जसपा अध्यक्ष उपेन्द्रमाथि दलमा ‘यादव’लाई च्यापेको आरोप लाग्छ । मधेश प्रदेशमा राउत मुख्यमन्त्रीको आकांक्षी रहे पनि उपेन्द्रले सरोजलाई अघि सारेपछि यादवलाई च्याप्ने उनीमाथि लाग्ने आरोपमा मलजल गर्यो ।
मधेशमा जसपा नेपाल र जनमत पार्टीबीच ‘शत्रुता’को सम्बन्ध छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षामन्त्री रहेका बेला उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्ने राजविराजको कृषि विश्वविद्यालयको भवन शिलान्यस कार्यक्रममा भने तत्कालीन मुख्यमन्त्री सरोजले उपेन्द्रलाई नै प्रमुख अतिथी बनाए । जनमतको विरोध र अवरोधकाबीच शिलान्यस कार्यक्रममा झडप भयो । मुख्यमन्त्री यादवकै उपस्थितीमा प्रहरीले तत्कालीन शिक्षामन्त्री महेशलगायत जनमत पार्टीका नेता–कार्यकर्तामाथि लाठी प्रहार गर्यो ।
मधेशमा जसपा नेतृत्वको सरकार ढाल्न जनमतको अभियानमा माओवादीका नेता भरतप्रसाद साह पनि मिसिए । जसपा नेपाल टुक्रिएपछि सरोजकुमार यादव नेतृत्वको सरकारलाई अल्पमतमा पारेर एमाले, माओवादी, जनमत र नेकपा(एस)को गठबन्धनमा नयाँ सरकार बनाउने प्रयास थालियो ।
संघीय सत्ता गठबन्धनले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपछि धेरैको अनुमान थियो, मधेश प्रदेशमा फेरि यादव नै (जनमतका महेशप्रसाद यादव) मुख्यमन्त्री बन्दैछन् । जनमत पार्टीका संसदीय दलका नेता भएकाले महेश पनि आफू मुख्यमन्त्री हुनेमा ढुक्क थिए ।
तर, बुधबार एकाएक मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई अघि सारेको खबर आयो । धेरैलाई आश्चर्यमा पार्ने यो खबर जनमत पार्टीका संसदीय दलका नेता महेशका लागि त झन् स्तब्ध पार्ने खालको थियो । राजपूत(क्षेत्री) समुदायका सतिशभन्दा जनमत पार्टीमा बरिष्ठ नेता अरु पनि छन् । महेश नभए बसन्त कुशवाहा वा चन्दन सिंहलाई मुख्यमन्त्रीमा जनमत पार्टीले अघि सार्ने धेरैको अड्कल थियो ।
जनकपुरका राजनीति विश्लेषक रोशन जनकपुरीले सिंहको सत्तारोहणलाई जातीय कार्डसँग जोडेर हेर्न नमिल्ने बताउँछन् । ‘उपेन्द्रजीमाथि सधैं यादव कार्ड खेलेको आरोप लाग्छ । तर, उनले आफ्नो पार्टी र व्यक्तिगत हितका लागि काम गर्दा त्यसो देखिन आउँछ,’ विश्लेषक जनकपुरीले भने,‘जनमत सानो दल हो । अहिले नै जातीय कार्डमा अल्झियो भने समस्यामा पर्छ । राउतका सिंह पुराना साथी हुन् । केही बुझेरै मुख्यमन्त्री बनाए होला ।’ सिंहलाई अघि सार्नुमा एकपटक अवसर पाइसकेकालाई पुन राजकीय पदमा नदोहोर्याउने राउतको नीतिले पनि काम गरेको छ । संघीय सरकारमा पनि यसअघि मन्त्री बन्ने अवसर आउँदा संसदीय दलका नेता आफैं भएपनि सीके सहभागी भएनन् । अहिले मुख्यमन्त्री बन्ने अवसर आउँदा पनि उनले त्यहाँ संसदीय दलका नेताभन्दा अरूलाई नै रोजे ।