
जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन्।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गर्दै उनले राज्यको श्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए। उनले केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे ।
अध्यक्ष यादवको कथन थियो, ‘‘श्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत दबाब दिएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । यसरी जबरजस्ती पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यहाँहरूलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयंले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाए भन्नुभयो।’’
अध्यक्ष यादवले भने, ‘‘प्रधानमन्त्रीले आफ्नो सत्ता टिकाउनलाई गरेँ भनेर घोषणा नै गर्नुभयो । त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत् नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति प्रलोभनमा परेर गएका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरी कोही मन्त्री बन्न । कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन । कोही धनबहादुर भित्राउन । त्यहाँभन्दा बढी केही लक्ष्य छैन ।’’
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विदेश रहेको बेला षड्यन्त्र रुपमा पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू आफूहरूकै साथमा भएको दाबी गरे ।
अध्यक्ष यादवले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने काम कूटनीतिक मर्यादा विपरीत भएको बताए।
अध्यक्ष यादवले आगमी दिनमा सङ्घीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।
गत महिना प्रतिनिधिसभामा १२ सिट रहेको जसपा नेपालका ७ सांसदले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी नाममा उक्त दल दर्ता गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको काम संविधान र कानुन विपरीत रहेको भन्दै उक्त दल दर्ता बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । सो मुद्दा हाल विचाराधीन छ ।
जनता समाजवादी पार्टी (जसपा) एकताको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाममा पर्सी जेठ २८ गतेदेखि शुरु हुने एकताको राष्ट्रिय महाधिवेशनको सम्पूणर् तयारी पुरा भएको छ ।
महाधिवेशनको विषयमा जानकारी दिन आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशका ७७ जिल्लाबाट १ हजार ३ सय प्रतिनिधि आउने जानकारी दिए।
तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द शत्रमा राजनीतिक वैचारिक दस्ताबेज, नीतिगत दस्ताबेज दस्ताबेज पेश गरेर त्यसमा व्यापक बहस तथा छलफल पछि महाधिवेशनबाट आवश्यक परिमार्जन सहित पारित गरिने अध्यक्ष यादवले जानकारी दिए।
यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया शुरु हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।