
धनुषा- जसपा नेपालको जनकपुरमा जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समिति चयनका लागि निर्वाचन नहुने भएको छ।
बिहीबार दिउँसो निर्वाचन गर्ने तयारी चलेको भए पनि महाधिवेशनको हलले अध्यक्ष उपेन्द्र यादवलाई जिम्मेवारी दिएको छ । यादव भने हिजै निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
महाधिवेशनमा अध्यक्ष बाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थिगत गरी सहमतिबाट चयन गर्ने निणर्य भएको हो ।
अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिनुभयो। अध्यक्ष यादवको सचिवालयमा समेत रहेका चौरसियाका अनुसार अब अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गरिने छ ।
केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको थियो । बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष चुनिनुभएको थियो । तर अध्यक्ष् ाबाहेकका पदमा भने नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारी सहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।
एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराउनुभएको थियो। यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराउनु भएको थियो । एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिनुभएको थियो ।
२०१ पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुनेभएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नेपर्ने घोषणा अध्यक्ष यावदले गर्नुभएको थियो ।
महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताउनुभएको थियो । ‘चुनाव हुने हो भने हिमाल र पहाडका एकदुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकि, पार्टीको मुख्य आधार तराई/मधेस हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिंगको प्रतिनिधित्व हुने गरी समावेशी बनाउन सक्छौ?’, यादवको भनाइ थियो ।
उहाँले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताउनु भएको थियो । उहाँको प्रस्ताव थियो, ‘त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने, सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंगो लगाऔँ ।’
उहाँको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो । अनि उहाँले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
अब यादवले शीर्ष नेताहरूसँगको छलफल गरेर पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाउनु हुने छ। आजै बेलुकासम्ममा त्यसको टुंगो लाग्ने यादवको सचिवालयले जानकारी दिएको छ ।
यससँगै जसपाको महाधिवेशन पनि सकिएको छ । महाधिवेशन गत २८ गते सुरु भएको थियो ।