
महोत्तरी - सोनमा गाउँपालिका महोत्तरीको गाउँसभा उपाध्यक्ष र वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले एकलौटी रुपमा गाउँसभा आयोजना गरी नीति कार्यक्रम ल्याउन खोजेको भन्दै ८ वडा रहेको सोनमाका उपाध्यक्ष, ५ जना वडा अध्यक्ष र ४ जना कार्यपलिका सदस्यहरुले गाउँसभा बहिस्कार गरेका हुन् ।

गाउँपालिकाको रेडबुक (योजना किताब) सार्वजनक गर्नु पर्ने, गाउँपालिकाबाट सञ्चालन भएको बजेटबारे छलफल सार्वजनिक सुनुवाइ हुनुपर्ने, गाउँपालिका अध्यक्ष यादवले परिवारका सदस्यहरुलाई गाउँपालिकामा गरेको नियुक्ति प्रक्रिया सार्वजनिक गर्नु पर्ने लगायतका माग राखि गाउँसभा बहिस्कार गरेको सोनमा गाउँपालिका वडा नं. १ का अध्यक्ष अशोककुमार यादवले बताए ।

'गाउँपालिकाको कार्यशैलीप्रति विमति राख्दै दुई वर्षमा भएको भ्रष्टाचारको छानबिनका लागि कार्यपालिका सदस्यहरु राखेर छानबिन समिति गठन हुनुपर्ने माग राख्दै गाउँसभा बहिस्कार गरेका छौं,' वडा अध्यक्ष यादवले भने, ‘गाउँपालिका अध्यक्ष यादवका आफन्तहरुले सोनमा गाउँपालिका कब्जा गरेका छन् ।आफन्तको नियुक्तिले गाउँपालिका परिवारको कब्जामा हुँदा एक वर्षमा ६ जना प्रशासकीय अधिकृतको सरुवा भएको छ ।’गाउँपालिकाको कार्यालयलाई घरपरिवार जस्तै चलाउन खोज्दा प्रशासकीय अधिकृत असुरक्षित भएर भाग्ने गरेको वडा अध्यक्ष यादवले आरोप लगाए ।

गाउँपालिका अध्यक्षले कार्यालयमा ताला लगाएर कार्यपालिका सदस्यलाई जानकारी नै नदिई प्रहरीको घेरामा गोप्य ठाउँमा गाउँसभा गरेको सोनमा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रामजीवन यादवले बताए । गाउँपालिका अध्यक्ष योजना नै नभएको शीर्षकमा तीन लाखभन्दा बढी भुक्तानी गर्ने, वितरण नै नभएको झुल, कम्मल खरिदमा भ्रष्टाचार गरेको र खर्च विवरण माग्दा उल्टै धाकधम्की दिंदा गाउँसभा बहिस्कार गर्नु परेको वडा नं. ६ का वडा अध्यक्ष श्याम यादवले बताए ।
वडा अध्यक्षहरुले लगाएको आरोप निराधार रहेको र कार्यपालिका बैठकको निर्णयअनुसार सबै जनप्रतिनिधिलाई समेटेर तोकिएकै स्थान र मितिमा गाउँसभा आयोजना गरेको गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले बताए । कुनै पनि जनप्रतिनिधिले गाउँसभा बहिस्कार नगरेको यादवले दाबी गरे ।

सोनमा गाउँपालिकाको ९ औं गाउँसभामा उपप्रमुख जहिदा खातुन अनुपस्थित थिइन् ।गाउँसभा गाउँपालिकाको कार्यालयमा हुने भने पनि पछि खैरवनिमा कडा सुरक्षा घेरामा जनप्रतिनिधिबिनै आयोजना गरिएको असन्तुष्ट वडा अध्यक्षहरुले बताए।गाउँसभाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।