
महोत्तरीको बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखी २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञको लागि होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले खाना र आवासको जिम्मेवारी लिएको छ ।
कथावाचिका राधिका दासीसँग आउने सहयोगी र कलाकारहरुलाई नि:शुल्क खाना र आवासको जिम्मेवारी लिएका हुन ।
माहायज्ञ मुल आयोजक समितिसँग भएको छलफलमा कलाकार र सहयोगीलाई नि;शुल्क खाना र आवास, माहायज्ञ लक्षित गरेर बाहिरवाट आउने पाहुनाहरुलाई आवासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।
त्यसैगरी सचिवालयको व्यवस्थापन समेत संघले नै गर्ने अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।
२५ देखि ३० लाख लागत अनुमान गरिएको माहायज्ञको लागि पारम्भिक चरणमा नै सहयोगको घोषणा हुन थालेको छ । यसअघि बर्दिवास नगरपालिकामा संचालनरत यातायात व्यवसायीहरुले पनि माहायज्ञमा सहभागी हुने सम्पूर्ण भक्तजनहरुको लागि ३० प्रतिशत यातायात भाडा छुट गर्ने निर्णय गरेका थिए ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहेको उक्त माया घर निर्माणार्थ नगर क्षेत्रका स्थानीयहरू उत्साहित देखिएका छन । अहिले माहायज्ञ सफल वनाउन विभिन्न विधामा १९ वटा उपसमिति वनाइएको छ ।
१ लाख भक्तजनहरु कथा श्रवन गर्न आउने अनुमान गरिएको माहायज्ञमा आवस्यक सम्पूर्ण व्यवस्थापन सकिएको मुल आयोजक समितिका संयोजक हिरा गौतमले जानकारी दिए ।