बर्दिवास- बाढीले भत्काएको पुल मर्मत पछि राजमार्गको सडक एकतर्फी सञ्चालनमामहोत्तरीको बर्दिबासमा पुल भत्किँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग मर्मत पछि एकतर्फी रुपमा संचालनमा आएको छ।
सडक डिभिजन कार्यालय जनकपुरले सडक बगाएको ठाउँमा ग्राबेल माटो हुरेर एकतर्फी सडक सञ्चालनमा ल्याएको हो ।
सडक बगाएको ठाउँमा ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले जानकारी दिए । उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।



गएराति आएको बाढीले बर्दिवास नगरपालिका-५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका थिए ।
बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भागको माटो बाढीले कटान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खोलामा आएको बाढीले बहाव परिवर्तन गरेपछि सडक बगाएको डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झाले बताए । उनका अनुसार मंगलवार बाढीले पुल नजिकै रुख बगाएर ल्याएसँगै बहाव परिर्वतन भएर पुलमा क्षती पुगेको हो ।
सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प रहेको थियो । राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।
माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको थियो।
३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गरिदा साना सवारी साधनहरु डाइभर्सनमा गुडेपनि ठुला मालबाहक सवारी साधनहरु अलपत्र परेका थिए ।




