ललितपुर- राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा शनिबार ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्याउन आयोजित तीनदिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त डा गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताए। उनले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राखे।




मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको भन्दै डा गुरुङले सूचनाको हक संविधानको धारामा मात्र व्यवस्था नभइ अभ्यास र कार्यान्वयन हुनु जरुरी रहेको बताए । “सार्वजनिक निकायको सूचना नागरिकले कानुनमा व्यवस्था भएअनुसार प्राप्त गर्न पाउनुपर्दछ । मुलुककमो संविधानमा पनि सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ”, प्रमुख सूचना आयुक्त डा गुरुङले भने, “यसले भ्रष्टाचार, अनियमितता उजागर गर्न सहयोग पु¥याउँछ । आमनागरिकलाई सूचनाको हकका बारेमा बुझाउन आवश्यक छ ।”

सूचनाको हक नेपालमा भएका कानुनमध्ये सबैभन्दा सरल कानुन हो भन्नुहुँदै उनले यो अभ्यासबाट सार्वजनिक निकाय सचेत र इमान्दार हुनुपर्नेमा जोड दिए । प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले सोही अधिकारीले नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउनुपर्ने उल्लेख गरे ।
“सूचनाको हकले शासन सञ्चालन गर्दा पारदर्शी भएर नागरिकमैत्री रुपमा सञ्चालन गर्नुपर्ने विषयलाई जोड दिन्छ । नेपालमा भएका सबै कानून कार्यन्वयन भएका छैन् -छैनन् भनेर मूल्याङ्कन गर्न पनि यसले सहयोग गर्छ, तथ्यमा आधारित पत्रकारिताका लागि पनि सूचनाको हकले सहयोग गर्छ”, गुरुङले भने।
आयोगमा सूचनाको हकको पुनरावेदन अझै कम परिरहेका भन्दै उनले सूचना माग्ने बानी बसाल्न सबैलाई आग्रह गरे । नागरिकलाई सचेत बनाउन यो प्रशिक्षणबाट प्रशिक्षित हुनेहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास लिइएको प्रमुख सूचना आयुक्त डा गुरुङको भनाइ छ । उनले नागरिकको हक र अधिकारका रुपमा नागरिकलाई सूचना माग्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
महासङ्घका अध्यक्ष उमिद बागचन्दले सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँदै देशभरका नागरिकलाई सुसूचित गराउन यो प्रशिक्षण आयोजना गरिएको बताए । उनले सूचनाको हक प्रयोग गरेर सूचना माग्ने मात्रै होइन सही रुपमा उपयोगपनि गर्नुपर्ने बताए।
प्रशिक्षक चिरञ्जीवी खनालले नेपालभरि सूचनाको हकको अभ्यास गर्न समुदायस्तरमा सचेतना जगाउन आवश्यक पर्ने बताए । महासङ्घका महासचिव अजय शाहले सूचना माग्नका लागि अभिप्रेरित गर्न, नागरिकलाई सचेत गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
महासङ्घका कर्णाली प्रदेश संयोजक एवम् सूचनाको हकका अभियन्ता खगेन्द्र भट्टराईले कालिकोटमा उपभोक्ता समितिमार्फत काम गरेका मजदुरले छ महिनासम्म पारिश्रमिक पाउन नसकेको अवस्थामा सूचनाको हक प्रयोग गरेर दुई महिनामा पाउने व्यवस्था मिलाइएको अनुभव सुनाए।
सूचनाको हकका अभियन्ता अधिबक्ता विश्वजित तिवारीले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएको बताउँदै सत्यतथ्य कुरा उजागर गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले नागरिकलाई सही सूचना पुर्याउन सहयोग यो कार्यक्रम सहयोगी हुने अपेक्षा लिइएको उल्लेख गरे।
महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले संविधानले आमनागरिकलाई दिएको हक प्रयोग गरेर सूचना माग्ने अभ्यास गर्नुपर्ने बताए । उनले यस कार्यक्रमले सूचनाको हकसम्बन्धी ज्ञान र सीपको विकास गरेर अभ्यासमा उतार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच र प्रवर्द्धन पुर्याउने उद्देश्यले आजदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा वरिष्ठ पत्रकार चिरञ्जवी खनाल, कपिल काफ्ले, तारानाथ दाहाल, हरिकला अधिकारी, राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख आयुक्त कृष्णहरी बासकोटा लगायतले सहजीकरण गरेका छन् ।




