
एजेन्सी - भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको हो । गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । छोरा जिशानको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । आरोपित एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन् ।
सिद्दिकीले करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका थिए । उनी गत फेब्रुअरीमा कांग्रेस छोडेर एनसीपीमा सामेल भएका थिए ।