
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र विवादित छविका व्यापारी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिनु भएको हो ।
‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गरेको सहन्न’ भन्ने ओलीले विवादास्पद व्यापारी एवं ललिता निवासको सरकारी जग्गा हिनामिना र जालसाझी मुद्दामा दोषी ठहर भएका गुरुङबाट पार्टी कार्यालयको भवन बनाउन १० रोपना १४ आना जग्गा लिएको भन्दै सफलले उजुरी दर्ता गराउनु भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका लागि मीनबहादुरबाट उक्त जग्गा भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधनसहित)विपरीत लिएको उजुरीकर्ता सफलको दाबी छ । उजुरीमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधनसहित) ले दान दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको छ ।’
के भनेको छ ऐनले ? यो पढ्नुहोस् :-

उजुरीमा प्रधानमन्त्री ओलीले विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र व्यवसायी गुरुङले श्रोत नखुलाई स्वार्थ पूरा गर्न एमालेलाई पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको आरोप लगाइएको छ । छानबिनको मागसहितको उजुरीमा प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध कारबाहीको पनि माग गरिएको छ ।
निवेदनमा ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ’ भनिएको छ ।
एमाले पार्टी कार्यालय निर्माणका लागि व्यापारीसँग जग्गा लिएको विषयमा प्रधानमन्त्रीविरुद्ध अख्तियारमा परेको उजुरी यस्तो छ :-


