
महोत्तरी - नेपालको महोत्तरी जिल्ला,जो भारतको सिमावर्ती क्षेत्रसँग जोडिएको छ,पछिल्लो समय रक्सी तस्करीको गम्भीर समस्यामा परेको छ। भारतको बिहार राज्यले सन् २०१६ देखि मदिरा सेवन,बिक्री,र वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस प्रतिबन्धपछि नेपालबाट भारततर्फ रक्सीको अवैध तस्करी उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी, नेपालका तराई जिल्लाहरू मध्ये महोत्तरी प्रमुख क्षेत्र हो,रक्सी तस्करीको केन्द्र बनेका छन्।
नेपालबाट सस्तो र सजिलै उपलब्ध हुने रक्सी बिहारमा बढी मूल्यमा बेच्ने क्रममा सिमावर्ती क्षेत्रबाट तस्करी तीव्र रूपमा भइरहेको छ। महोत्तरी जिल्लाका विभिन्न गाउँहरूमा अवैध रूपमा रक्सीको उत्पादन, भण्डारण, र ढुवानीका लागि प्रयोग हुँदै आएको पाइन्छ। यस प्रक्रियामा स्थानीय मानिसहरूदेखि ठूला तस्कर समूहहरू समेत संलग्न छन्। नेपालको महोत्तरी जिल्लाबाट भारतको बिहार राज्यसम्म तस्करीको नेटवर्क यसरी फैलिएको छ कि यसले नेपाल प्रहरीलाई पनि चुनौती दिएको छ।
तस्करीलाई नियन्त्रण गर्न प्रहरीले प्रयास नगरेको होइन, तर अपेक्षित परिणाम आउन सकेको छैन। प्रहरीको भूमिका: मुक दर्शक बनेको आरोप नेपाल प्रहरीले तस्करी नियन्त्रणमा कडाइ गर्न नसकेको आरोप लगाउँदै स्थानीयबासीहरू आलोचना गरिरहेका छन्। उनीहरूका अनुसार प्रहरीको कामप्रति उदासीनता र अव्यवस्थित सिमाना व्यवस्थापनले गर्दा तस्करी अझै बढ्दो छ। प्रहरीको उपस्थितिमा समेत तस्करी सहजै भइरहने घटनाले प्रहरीले आफ्नो भूमिका सशक्त रूपमा निभाएको छैन भन्ने सन्देश दिएको छ। कतिपय अवस्थामा प्रहरीकै संलग्नता र तस्करहरूसँगको मिलेमतोको शंका गरिएको छ।
सिमानामा पर्ने मुख्य सुरक्षाको जिम्मेवारी भनेको शस्त्र प्रहरीको हो। सिमामा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्ने, तस्करी रोक्ने, र सुरक्षा व्यवस्थापन गर्ने दायित्व शस्त्र प्रहरीको भए तापनि, तस्करहरू निर्धक्क भएर आफ्नो काम गर्न सकिरहेका छन्। यो शस्त्र प्रहरीको लापरवाही वा कमजोरीलाई इंगित गर्छ। तस्करहरूका लागि सीमामा प्रहरीको उपस्थिति अप्रभावी भएको देखिन्छ। तस्करीका घटना रोक्नका लागि नियमित गस्ती, सर्च अपरेसन, र निगरानी प्रणालीलाई कडा बनाउनुपर्ने सुझाव स्थानीयबासीहरूले दिएका छन्।
तस्करीको सामाजिक र आर्थिक प्रभाव रक्सी तस्करीले महोत्तरी लगायतका सिमावर्ती जिल्लाहरूमा नकारात्मक सामाजिक र आर्थिक प्रभाव पारिरहेको छ। अवैध तस्करीका कारण राज्यलाई राजस्वको ठूलो घाटा बेहोर्नु परेको छ, जुन सिमामा कडा निगरानी प्रणालीको अभावका कारण हो। साथै, स्थानीय युवाहरू तस्करी जस्तो गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै जाने खतरा रहेको छ। यसले सामाजिक विघटन, अपराध दरमा वृद्धि, र कानूनी समस्या उत्पन्न गर्नेछ।
महोत्तरी जिल्लामा रक्सी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले गम्भीर कदम चाल्न आवश्यक देखिन्छ। प्रहरी र शस्त्र प्रहरीले कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी पूरा नगरेको खण्डमा, तस्करीका यी अवैध कार्यहरू झन् बढ्ने निश्चित छ।