
महोत्तरी - महोत्तरीका तीन साझेदारी वनमार्फत सहुलियत दरमा सालसहितका विभिन्न जातका काठ वितरण सुरु गरिएको छ । पछिल्ला केही वर्षदेखि ढालापडा काठहरू घाटगद्दीमा थन्केर रहेकोमा साझेदारी वन व्यवस्थापन कार्यविधि स्वीकृत भएर काठ वितरण सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय महोत्तरीका कार्यालय प्रमुख (डिएफओ) अजय मिश्रले लामो समयदेखि कार्यविधि अभावमा काठहरू थन्केर रहेको बताउँदै अहिले सहज ढंगले वितरण हुन सकेको बताए ।
उनले क्रमिक रूपमा ढालापडा र थिनिङबाट उत्पादित हुने काठहरू वितरण गर्ने योजना रहेको बताए । उनले उपभोक्ताहरूले काठ अभावमा आफ्नो महत्त्वपूर्ण कार्यहरू गर्न नसकेको अवस्थामा काठ सहुलियत दरमा वितरण हुन थालेपछि उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
यता बाँके मरहा साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष बलराम यादवले समेत दैनिक काठ लिन निवेदन आउने गरेको बताउँदै सहज वातावरणमा काठ बिक्री भइरहेको बताए । पुरानो काठ भएकाले घरको झ्यालढोकाका लागि केही हदसम्म काठ प्रयोग हुन सक्ने बताउँदै अन्य विभिन्न प्रयोजनका लागि समेत काठ लिनेहरू आइरहेको बताए ।
महोत्तरीस्थित बाँके मरहा साझेदारी वन उपभोक्ता समूह, टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूह र गढन्ता साझेदारी उपभोक्ता समूहमार्फत काठ वितरण सुरु गरिएको हो । -नयाँ पत्रिका