जनकपुर - शनिबार समुदायमा छोरीलाई हेर्ने दृष्टिकोणले छोरीहरु बालविवाहको सिकार हुन पुगिरहेको वक्ताहरुले बताएका छन् । हानिकारक सामाजिक मूल्यमान्यता बिरुद्ध सामुदायिक अभियान अन्तर्गत मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नंः ४ स्थित खत्बैया टोलमा मुखियापट्टी मुसहरनिया युवा संजालद्वारा आयोजित बालविवाह विरुद्ध अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष उदयचन्द्र झाले छोरीलाई हेर्ने दृष्टिकोणले गर्दा छोरीहरु कम उमेरमा वैवाहिक बन्धनमा बाँधिन बाध्य रहेको बताउनु भयो ।
वालविवाह रोक्न समुदायले महत्वपूर्ण भुमिका खेल्न सक्छ तर समुदायले नै वालविवाहलाई बढावा दिईरहेको उनको तर्क छ । उनले भने, “छोरीलाई सबैभन्दा बढी बुझ्ने आमा हुन्छिन, शारिरिक रुपमा जे प्रकारको पिडा आमाले भोगेकी हुन्छिन्, त्यस्तै पिडा एउटा छोरीले झेल्नु परेको हुन्छ । त्यसैले आमाको भुमिका वालविवाह रोक्न महत्वपूर्ण छ । तर, आमाहरुले आफ्नै छोरीको पीडा बुझ्न खोज्दैनन् ।
”समुदायमा चेतनाको अभावको कारण बाल विवाह भईरहेको र छोरीहरु विभिन्न कार्यबाट बञ्चित हुन पुगेको उनको भनाई थियो । छोराछोरीमा समान भावना राख्न र अभिभाबकलाई संतानको आत्मबल बन्न आवश्यक हुन्छ, भने छोरीहरुलाई विशेषगरि आत्मबल बढाउन आमाबुवाले कदम चाल्नुपर्नेमा उनको जोड थियो ।
वलविवाह रोक्न विभिन्न अभियानहरु संचालनमा रहेपनि यसलाई रोक्न प्रशासन तथा स्थानीय निकायले कदम उठाउँदा समाजले खुलेर साथ नदिनेको गरेको प्रति उनले आपति जनाउनु भयो । अध्यक्ष झाका अनुसार, धेरै जसो पिछडिएका समुदायका व्यक्तिहरुले बच्चाको विवाह तय गरिरँदा बच्चाको सहमति लिन आवश्यक ठान्दैनन्, भने विवाह तय भएर सरसामानको लागि वडामा कागजात सिफारिस गराउन आउँदा धेरै जसोको उमेर १६ अथवा १७ मात्र रहेको हुन्छ । यस्तोमा सिफारिस नदिदाँ लुकीछुपी समेत विहे गर्ने गरेको देखिन्छ ।
अभिभाबक तथा बच्चाहरुमा चेतनाको अभाव, बच्चामाथि विश्वास नगर्ने प्रवृति र बच्चालाई उसको एउटा साथी मित्र नबनि डराउने धम्काउने बाणीले पनि किशोर किशोरीहरु गलत बाटोमा लाग्ने गरेको उनको तर्क थियो ।
वडा सदस्य बेचनी देवी रामले, समाजमा घटेका केही नराम्रो घटनाहरुले छोरीहरुको विवाह छिट्टै गर्ने गरेको बताईन् । बाल विवाह खास गरि दलित समुदायमा बढी हुने गरेको र यसले गर्दा मातृशिशुको समस्या तथा मृत्युदरको तथ्यांक पनि उक्त समुदायमा बढि रहेको पाईन्छ । कम उमेरमा बिवाह भएको कारण २० बर्ष ग्पुग्दै २/३ बच्चा जन्मिने गरेको छ र ति बच्चाहरुलाई जन्म दर्ता बनाउन समस्या हुने गरेको छ । बच्चाहरुको जन्म दर्ता नभएको कारण बिधालय जान पाउदैन । बाल बिवाह गरेकी महिलाहरु बिवाह दर्ता बन्दैन, बिवाह दर्ता नभएपछी नागरिकता बन्दैन लगाएत समस्याहरु भोग्नु परेको छ भने, बालविवाह कै कारण छोरीहरु बीच मै पढाई छोड्न बाध्य रहेको उनको भनाई थियो ।
बालविवाह रोक्न सरकारले विभिन्न नीति ल्याएको छ, विवाह गर्ने, गराउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना रहेपनि मान्छेमा डर नरहेकोले अझै दलित, सिमान्तकृत समुदायमा वालविवाहको दर उच्च रहेको शिक्षक लक्ष्मीप्रसाद साहले बताउनु भयो।
समाजको बिभिन्न हानिकारक सामाजिक मुल्य मान्यताहरु मध्येको एक बालविवाहरु विरुद्ध सेफ नेपालको सहकार्यमा युवा संजालले अभियान संचालन गरेकोमा खुसी व्यक्त गर्दै समाजसेवी अशोक साहले यसको अन्तय गर्न आफैबाट पहल गर्न आवश्यक रहेको बताउनुभयो । द एसिया फाउनडेशन मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिकामा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
जस अन्तर्गत मुखियापट्टी मुसहरनिया गा.पा.को वडा नंः ४ खत्बैयामा सम्पन्न भएको अन्तरक्रियामा सेफ नेपाल तथा मुखियापट्टी मुसहरनिया युवा संजालका पदाधिकारी सहित गा.पा.४ का अध्यक्ष उदयचन्द्र झा, सचिव रामजिवन साह, सदस्य बैचनी देवी राम, समाज सेवी अशोक साह लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।