सिन्धुली– शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्रहरीले सवारीसाधनहरु चेकजाँच गर्दै थियो । इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट प्रहरी निरिक्षक टंक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले साँझा ७ बजेसम्म सयौँ सवारीसाधनहरु चेकजाँच गरिसकेको थियो ।चेकजाँच सामान्य तरिकाले नै चल्दैथियो । साँझ ७ बजेर २० मिनेटको समयमा चितवनबाट हेटौँडा हुदैँ सिन्धुलीबाट बर्दिबास तर्फ जादैँ गरेको पिकअप गाडिको चेकजाँच गर्नथालेपछि अवस्था फरक देखियो ।
बा.प्र.०३–००१ च २२८० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा चेकजाँच स्थलमा प्रहरीनै चकित परे । चितवनको भरतपुर महानगरपालिका ६ का ३९ वर्षिय शेर बहादुर लामाले चलाएको उक्त गाडीमा ‘मिनि’ (सानो) सुरुङ जस्तै प्वाल भेटियो । प्रहरीले चेकजाँच गर्नेक्रममा गाडीमा फल्स बटम ‘झुटो बटम’ बनाई त्यहाँभित्र गाँजा लुकाइएको प्रमाण फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) अनिल कुमार खड्काको अनुसार झण्डै १८५ किलो लागुऔषध गाँजा फेला परेको छ । गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो ।