धनुषा- धनुषामा एकपछि अर्को व्यक्ति हत्याको घटनाहरु लगातार भइरहेको अवस्था देखिएको छ। हत्या गरेर फालिएका लासहरु फेला परेका दृश्यले स्थानीय त्रसित छन्। पछिल्लो एक महिना भित्र दुई पुरुष र दुई महिला गरी चार जनाको हत्या भइसकेको छ । शुक्रवार विहान पनि एक शव फेला परेको छ। शुक्रबार बिहानै जनकपुरधामको मुरलीचोकस्थित दुर्गा मन्दिरमा एक वृद्धको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको गएराति ईंटा प्रहार गरी हत्या भएको जस्तो देखिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । घटनास्थलमा रक्सी खाएर आएका व्यक्तिले विवाद गरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलमा रक्सीको बोतल र चुरोटका ठुटा, चप्पल, रगत लागेको ईंटा फेला परेको छ । मन्दिर परिसरमा बिहान योग गर्न जाँदा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहीबार अपराहन्न मात्र धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहास्थित पर्शुराम तलाउ नजिक बोराभित्र एक युवकको शव फेला पर्यो ।
सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताए । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान गरेर शव पोस्टमार्टमा लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । युवकको घाँटीमा डाम देखिएकाले हत्या गरेर बोराभित्र राखेर फालेको हुन सक्ने धनुषा प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म पहिचान नखुलेको प्रहरी उपरीक्षक तिवारीले बताए । दुई साताअघि मात्र धनुषाको विदेह नगरपालिका-५ मुरिबामा एक महिलाको विभत्स हत्या भएको थियो ।
१८ मंसिरमा साढे ४ बजेतिर घाँस लिन गएकी धनुषाको विदेह नगरपालिका–५ मुरिबाकी ४० वर्षीया रामपरीदेवी ठाकुरको भोलिपल्ट हत्या भएको अवस्थामा टाउको र शरीर अलग-अलग अवस्थामा भेटिएको थियो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी सिंहका अनुसार शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा शरीर फेला परेको थियो भने टाउको २०५ फिट पर कमला नहर स्थित झाडीमा फेला परेको थियो । घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल, र अन्य सामग्री प्रहरीले बरामद गरेको थियो । हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई धनुषा प्रहरीले पक्राउ गरेर २ पुसमा मात्र सार्वजनिक गरेको थियो ।
घटनाको अनुसन्धानको क्रममा सगमलालको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । मृतक महिलासँग हत्याअघि सगमलालको फोन सम्पर्क समेत रहेको पुष्टि भएको छ । व्यक्तिको प्रतिष्ठासँग सम्बन्धित रहेको भन्दै प्रहरीले घटनाका कारण खुलाएको छैन । यद्यपि एक प्रहरी अधिकारीका अनुसार घटना आपसी विवादमा भएको हुनसक्छ । धनुषाको जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावे बीच सिमानामा रहेको आमाखोलामा गत ८ मंसिरमा एक युवतीको शव फेला पर्यो ।
युवतीको शव प्लास्टिकको बोराभित्र पोको पारेर फालेको अवस्थामा फेला परेको थियो । शवको पहिचान चार दिनपछि मात्रै खुलेको थियो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा जनकनन्दनी गाउँपालिका-५ उधा टोलका रामबिहारी मण्डलकी २० वर्षीया छोरी रेखा कुमारीको हत्या विवाहको विवादमा प्रेमीबाट भएको थियो । हत्या आरोपमा प्रहरीले जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहीदनगर नगरपालिका-८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई पक्राउ गरेको छ । ललितसँग रेखाको प्रेम चलिरहेको र विवाहको विषयमा विवाद हुँदा ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा रेखाको हत्या गरी बोराभित्र राखेर फालेको प्रहरीको भनाइ छ ।
उनीलाई कर्तव्यज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीका अवकाश प्राप्त एसएसपी गोविन्दबहादुर शाह यस्ता घटनाहरू सामाजिक सञ्जालको कारणले बढेको बताउँछन् । सामाजिक सञ्जालमा सम्बन्ध बन्ने र कुनै प्रकारको विवाद हुँदा आवेशमा हत्या जस्ता घटना बढ्ने गरेको उनको भनाइ छ। धनुषामा घटेको चारवटै प्रकृतिको घटनामा प्रहरीको कुनै कमजोरी नरहेको उनको विश्लेषण छ। ‘सबै ठाउँमा प्रहरी परिचालन गर्न सकिंदैन। यसको लागि सामाजिक सचेतना आवश्यक छ’ उनले भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा जनचेतना आवश्यक छ।’ जनकपुरका विद्यार्थी नेता सुरेन्द्र यादवले पछिल्लो समय जिल्लामा बढेको व्यक्ति हत्या, हिंसा र चोरी जस्ता घटनाले समाजमा त्रास फैलिएको बताए । यस्ता घटना हुन नदिन प्रहरीसहित राज्य संयन्त्रको काम भए पनि त्यसमा गम्भीर नदेखिएको उनले बताए ।
‘समाजिक सञ्जालको प्रयोग, लागुऔषध सेवान, खुल्ला सीमा जस्ता कारणले अपराध बढ्दै गएको छ । कुलतमा फसेकाहरूलाई त नियन्त्रण गर्न सकिन्छ । सचेतना फैलाउन सकिन्छ,’ उनले भने । यता धनुषा प्रहरीले जिल्लामा सुरक्षा व्यवस्थामा कुनै कमजोरी नरहेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी तिवारीका अनुसार आपराधिक घटनाहरूको अनुसन्धान गरेर दोषीलाई कारबाही भइरहेको बताए ।
‘अनुसन्धानले के देखाउँछ भने सँगै बस्ने व्यक्तिहरूबीच समान्य विवाद हुँदा कुटेर हत्या गरिदिएको अवस्था देखिन्छ । खुल्ला सिमानाका कारणले पनि मधेशमा आपराधिक क्रियाकलाप हुन्छ । तर, हामी घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याएका छौं,’ उनले भने ।