
सर्लाही- हरिवन नगरपालिकाको चतुर्भुजेश्वर जनता मावी सुखेपोखरीमा आयोजित नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। उत्कृष्ट प्रदर्शनका साथ महादेव जनता मावि, हरिवनले प्रतियोगिताको उपाधि जितेको छ। महादेव जनता माविले समग्रमा १० स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो।
चतुर्भुजेश्वर जनता माविले ६ स्वर्णसहित दोस्रो स्थान प्राप्त गर्यो भने माइरानि माविले ४ स्वर्णसहित तेस्रो स्थानमा रह्यो। चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष भुजेलको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख रमेश बुढाथोकी र नगर उपप्रमुख हरिमाया घलान,प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की र वडा नम्बर १० का वडाध्यक्ष शम्भु मैनालीले शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे। नगर प्रमुख रमेश बुढाथोकीका अनुसार प्रतियोगिताको उद्देश्य नगरपालिकाका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो।
"हामीले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्न र उनीहरूको क्षमता विकास गर्न यो प्रतियोगिता सञ्चालन गरेका हौं," बुढाथोकीले भने। पुस १२ देखि १४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा हरिवन नगरपालिकाका १७ वटा माध्यमिक र आधारभूत विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले बताएका छन्।











