
जनकपुरधाम — नर्थ साउथ कलेक्टिभको आयोजनामा नागरिक समाज सञ्जाल धनुषा गठन भएको छ। शुक्रबार जनकपुरधाममा आयोजित नागरिक समाज सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा कायापलटका संस्थापक दिवाकर उप्रेतीलाई सर्वसम्मत संयोजकमा चयन गरिएको हाे।
सञ्जालमा जनकपुरधाम धनुषामा कार्यरत दश संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसमा उप्रेतीको नेतृत्वमा गठित ११ सदस्यीय समितिले धनुषा जिल्लामा महिला, युवा, र सिमान्तकृत समुदायको आवाज उठाउने उद्देश्यले विभिन्न मुद्दामा पैरवी र बहस आयोजना गर्ने निर्णय गरेको छ।
संयोजक उप्रेतीले सञ्जालले सामाजिक चिन्तन र आलोचनात्मक चेतनालाई प्रवर्द्धन गर्दै सरकार र नागरिक समाजबीच पुलको भूमिका खेल्ने बताए। उनका अनुसार सञ्जालले समुदायको चेतना अभिवृद्धि गर्न र जनस्तरका बहसलाई सरकारी नीतिसँग जोड्न प्रयास गर्नेछ।
नर्थ साउथ कलेक्टिभले यूएसएड सिएसएम कार्यक्रमअन्तर्गत मधेश प्रदेश र जिल्ला तहमा नागरिक समाजको सञ्जाल निर्माण गरिरहेको छ। आयाेजक सँस्थाका कार्यक्रम व्यवस्थापन विज्ञ डा. अजय साहले सञ्जालमार्फत सहकार्य र समन्वयका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको बताए।
सञ्जालले धनुषा जिल्लामा समुदायको आवाजलाई नीतिगत बहसमा रूपान्तरण गरी स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।