
जनकपुरधाम - एचपीभी खोप अभियान–२०८१ तथा नियमित खोपमा सुरुवात गर्नका मंगलबार एक दिने अभिमुखिकरण कार्यक्रम धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा सम्पन्न भएको छ ।
खोप अभियानको सुरुवात गर्न पालिकास्तरीय खोप समन्वय समिति, संचारकर्मी तथा अन्य सरोकारबालाहरुको अभिमुखिकरण कार्यक्रममा खोपको आवश्यक्ताबारे प्रकाश पारेको थियो ।लक्ष्मीनियाँ गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले आगामी माघ २३ गते धनुषासहित मधेश प्रदेशमा एचपीभी खोप अभियान संचालन हुने जानकारी दिए ।
१० देखि १४ वर्षसम्मका किशोरीहरुलाई सो खोप लगाउने भएको हो । विद्यालयहरुमा कक्षा ६ देखि १० सम्मका छात्रालाई एचपीभी सम्बन्धी खोप लगाउने तयारी रहेको ठाकुरले बताए ।
गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा लक्ष्मीनियाँमा खोप लगाउने उमेर समूहका बालिकाहरुलाई स्वास्थ्य चौकी, विद्यालयहरुमा कार्यक्रम संचालन गरिने स्वास्थ्य शाखा प्रमुख मनोहर यादवले बताए ।अभिमुखिकरण कार्यक्रममा पालिकाका स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधि लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।