
जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह बुधबार मध्यराति धनुषाको कमला खोलको खोंचमा पुगे । मुख्यमन्त्री सिंहसहित पुगेका सुरक्षाकर्मीलाई देखेपछि रातको समयमा कमला खोलाको दोहन गरिरहेकाहरू भागाभाग भए ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला खोलाको पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा पनि बालुवा र गिट्टी उत्खनन् भइरहेको थियो । रातको समयमा पनि कमला खोलाको वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा अवैध तथा अनुचितढंगले ढुंगाा–गिट्टी र बालुवा उत्खनन भइरहेको गुनासो आएपछि मुख्यमन्त्री सिंह धनुषाका सुरक्षा अधिकारीसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा खटिएका हुन् ।
धनुषा प्रहरीका डीएसपी एवं प्रवक्ता बरुणवहादुर सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा भएको छापामारीमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुईवटा एक्स्काभेटर र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । मुख्यमन्त्री सिंहसहितको टोली पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका एक्स्काभेटर र ट्याक्टर तथा त्यसमा संलग्न व्यक्ति फरार भएका थिए ।
मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभावी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपद् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताए । उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढंगले ढुंगाा–गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको बताए ।
वनक्षेत्र र सामुदायिक वनक्षेत्रस्थित खोला तथा टेन्डर नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुंगा–गिट्टी र बालुवा उत्खनन् हुने गरेको जानकारी मुख्यमन्त्री सिंहलाई प्राप्त भएको थियो । मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताए । उनले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने बताए ।