
नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले चिनियाँ ठेकेदार कम्पनीबाट सिरहा जिल्लामा भइरहेको अबैध उत्खननको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले अबैध उत्खनन् गर्दा स्थानीय प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ समेत गरेको बताइन् । उनले सिहारबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले चुरे क्षेत्रमा भइरहेको अबैध उत्खनन् रोक्नका लागि चासो नदिएको आरोप पनि लगाइन् ।
कांग्रेस सांसद चौधरीले भनिन्, ‘खुट्टी खोला आसपासका बस्तीहरू गम्भीर जोखिममा परेका छन् । कृषिकार्य गरेर जीविका चलाउने सामान्य किसानको जीवन गम्भीर रुपमा प्रभावित भएको छ ।’
‘राजमार्ग आसपास बसोबास गर्ने ठूलो जनसंख्या स्वच्छ अक्सिजन लिनबाट बञ्चित छ’, उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।’
‘मधेशको लाईफलाईन चुरे क्षेत्र हो । डोजर लगाएर उत्खनन् हुने क्षेत्रको संसदीय अनुगमनको लागि आग्रह गर्दछु । सांसदहरूले अनुगमन गर्न जरुरी छ’, उनले भनेकी छिन् ।
सांसद चौधरीले भनिन्, ‘सन् २०२० देखि महेन्द्रराजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य भइरहेको छ । महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर सडक स्तरोन्नति गर्न चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुप भन्ने कम्पनीले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिएर ठेक्का पारेको थियो । चार वर्षदेखि निर्माण कार्य गर्दै आएको छ ।’
‘चाइना रेलवे टु भन्ने कम्पनीले सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, गढीमाई नगरपालिका क्षेत्रमा पर्ने नदीहरूमा अबैध र व्याप्त उत्खनन् गरेको तथ्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनिन् ।
चौधरीले भनिन्, ‘२०७९ चैत ११ गते लहान नगरपालिका दुई वर्षको लागि ठेक्का सम्झौता गरेको छ । सम्झौतामा चाइना रेल्वे टुले स्काभेटर वा डोजरको प्रयोग गरि उत्खनन् गर्न पाउने छैन भनेर उल्लेख गरिएको छ ।’
‘खुट्टी र सरायु खोलाको संगमस्थलदेखि उत्तरतर्फ विभिन्न वफर जोन नेपाल सरकारले संरक्षित क्षेत्र भनेर घोषणा गरेको छ’, उनले भनिन्, ‘त्यसमा समेत चाइना रेलवे टु कम्पनीले गैह्रकानूनी रुपमा डोजर र स्काभेटरको प्रयोग गरि उत्खनन् गरेको राष्ट्रिय मिडियामा समाचार आएका छन् ।’
‘२०८१ मंसिर ३ गते सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको छ । चिनियाँ नागरिक गैह्रकानूनी रुपमा उत्खनन् गरेको अभियोगमा पक्राउ परेका छन्’, सांसद चौधरीले भनिन्, ‘तैपनि सम्बन्धितनिकायको ध्यानाकर्षण भएको छैन ।’
उनले भनेकी छिन्, ‘नेपाल अहिले क्लाइमेट चेञ्जका लागि विश्वस्तरमा आवाज उठाइरहेको छ । हाम्रा हिमनदीमा प्रतिकूल असर परेकोमा चिन्तित छौँ । हाम्रो चिन्ता जायज पनि छ । सम्वेदनशील पर्वत चुरे रहेको छ ।’
‘पूर्वदेखि पश्चिमसम्म ८ सय किलोमिटरमा तन्किएको यो क्षेत्रले देशको १३ प्रतिशत भू–भाग ओगटेको छ । यो भागमा आधी जनसंख्या बसेको छ’, उनले भनिन् ।
‘मधेशका अधिकांश जनताको लागि खानेपानीको मुख्यमाध्यम भनेको चापाकल नै रहेको छ । जसको मुख्य स्रोत भनेको जमीनमुनिको पानी हो’, सांसद चौधरीले भनिन्, ‘पहिला ३०/४० फिटमा पानी आउँथ्यो । अहिले ३ सय फिटमा पनि आउन सक्दैन । चुरेको रिचार्ज सिस्टम नै ध्वस्त भइसकेको छ ।’