
जनकपुरधाम- जनमत पार्टीले सांगठनिक मजबुती, संघीयताको सुदृढीकरण गर्दै राजनीतिक स्थायित्वका लागि अघि बढ्ने लगायतको निर्णय गरेको छ ।अध्यक्ष डा. सीके. राउतको अध्यक्षतामा बर्दिबासमा दुईदिन चलेको बैठकमा केन्द्रीय सदस्यहरू तथा पर्यवेक्षकहरूको कार्यप्रगति मूल्याङ्कन गरी आगामी दिनमा उनीहरूलाई कायम राख्ने वा अन्य जिम्मेवारी दिने विषयमा निर्णय गरिने जनाइएको छ।
संगठन विस्तारका लागि सदस्यता अभियान तीव्र बनाउने, भातृसंगठनहरू गठन गर्ने, विविध वर्ग, समुदाय, व्यवसाय समूह तथा भौगोलिक क्षेत्रमा पार्टीको उपस्थिति बलियो बनाउने निर्णय भएको जनमतका प्रवक्ता सरदसिंह यादवले जानकारी दिए ।
यस्तै आगामी दिनमा सडक आन्दोलन, संसदीय गतिविधि तथा सरकारको नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने रणनीति तयार गर्ने निर्णय गरेको छ। साथै, सशक्त आन्दोलनका लागि युवादस्ता गठन गरी प्रशिक्षणमा विशेष ध्यान दिने निर्णय पनि गरिएको उनले बताए ।
प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक कानूनी संरचना निर्माण गर्न पहल गर्ने निर्णय गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनचेतना अभिवृद्धि गर्ने तथा देशमा भइरहेको राजनीतिक प्रतिगामी ध्रुवीकरणको विरुद्ध सचेतना फैलाउने निर्णय बैठकले गरेको छ।राजनीतिक दलसम्बन्धी ऐन, दुई दलीय व्यवस्था लागू हुने किसिमको थ्रेसहोल्ड, भूमि तथा नागरिकता सम्बन्धी अध्यादेशलाई जनमत पार्टीले प्रतिगामी कदमको रूपमा व्याख्या गर्दै प्रखर रूपमा विरोध गर्ने निर्णय गरेको प्रवक्ता यादवले बताए ।
तराई–मधेशको पानीको मूल, चुरिया पर्वतको संरक्षण तथा अवैध उत्खनन रोक्न विभिन्न तहमा पहल गर्ने निर्णय गरिएको छ। साथै, हुलाकी राजमार्ग, पुलहरू, तराई–मधेश फास्ट ट्र्याक तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जोडदार लबी गर्ने निर्णय बैठकले गरेको छ।समग्र देशको विकास र भविष्यको निकास ‘नौलो गणतन्त्र’ भएको जनाउँदै यस अवधारणालाई घर–घरमा पुर्याउने र विभिन्न कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको छ।
यस बैठकमा पार्टीको दीर्घकालीन रणनीति तथा संगठन विस्तारका योजनाहरूलाई मूर्तरूप दिन आवश्यक अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय पनि पारित गरिएको छ।सिरहा जिल्लाको रिंकु सदासहितका घटनाको संज्ञान लिँदै दलित, गरीब, पिछडिएका तथा निमुखा वर्गमाथि भइरहेको दमन, शोषण र हिंसाविरुद्ध जनमत पार्टी संगठित रूपमा संघर्ष गर्ने निर्णय गरिएको प्रवक्ता यादवले बताए।
नागरिक उन्मुक्ति पार्टीसहितका विचार तथा सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरणको सम्भावनाबारे छलफल गर्न अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरिएको छ।