
जनकपुरधाम - मधेश प्रदेश सञ्चारिका समूहकी कोषाध्यक्ष चान्दनी झाले अध्यक्ष सुनिता बरालमाथि गम्भीर आरोप लगाएकी छन् ।
उनले संस्थाको आन्तरिक कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै व्यक्तिगत र सामाजिक रूपमा निकै प्रभावित भएको भन्दै संस्थामा एकलौटी निर्णय, पारदर्शिता अभाव र मधेसी र पहाडी बीचको विभेदको मुद्दा उठाएकी हुन् ।
झाले आफ्नो संस्थागत अनुभवको बारेमा भनिन्, ‘मैले संस्थाको हिसाब–किताबबारे जानकारी माग्दा र कार्यक्रमको स्रोतबारे स्पष्टता खोज्दा अध्यक्ष बरालले मलाई निष्क्रियताको आरोप लगाइन् । मात्र त्यति नभई संस्थाबाट मलाई हटाउने प्रयाससमेत गरियो ।’
उनले संस्थाभित्रको कार्यशैलीमा एकलौटी निर्णयहरू लाद्ने प्रवृत्ति रहेको र संस्थाले पारदर्शिता, समावेशिता र न्यायपूर्ण अवसरको अभाव पारेको आरोपसमेत लगाइन । झाले अध्यक्ष बरालको नेतृत्वमा मधेशी सदस्यहरूको सहभागिता न्यून रहेको र मधेशीहरूको सम्मानजनक स्थान नपाइरहेको पनि प्रत्यक्ष रूपमा महसुस गरेको बताइन् ।
‘सुरु देखि नै मलाई कुनै कार्यक्रमको समयमै जानकारी दिइएन । कार्यक्रमको केही क्षण अघि मात्र खबर गरिन्थ्यो । मलाई सक्रिय रूपमा सहभागी हुन कठिन बनाइयो,’ झाले थपिन् ।
उनका अनुसार संस्थामा आफ्नो अधिकार माग्नु कुनै अपराध होइन, बरु यो एक हक हो । तर, जब संस्थाले आफ्नै सदस्यलाई निष्पक्ष रूपमा अवसर नदिएर दमन गर्ने प्रयास गर्छ, त्यहाँ समानता र न्यायको प्रश्न उठ्छ । झाले यो संघर्षलाई केवल आफ्नो व्यक्तिगत अस्तित्वको लडाइँ मात्र नभएर संस्थागत अन्यायविरुद्धको आवाज पनि भनेको बताइन् ।
सञ्चारिका समूहसँगको आफ्नो यात्रा समाप्त गर्दा झाले केहि मुख्य कारणहरू प्रस्तुत गरिन् । उनले भनिन्, ‘कोषाध्यक्ष नाम मात्रको भए, मैले कहिल्यै अधिकार प्राप्त गरिन् । हिसाब–किताबबारे सोधखोज गर्दा अध्यक्षले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । यो संस्थामा मधेशीहरूको सम्मानजनक सहभागिता पनि थिएन ।’
उनले अध्यक्ष बरालको नेतृत्वमा मधेशी सदस्यहरूप्रति हेपाहा प्रवृत्तिको आरोप पनि लगाइन् । ‘विभिन्न सरकारी निकायबाट संस्थाको नाममा पैसा उठाउने र मेरो नामको दुरुपयोग गरी चन्दा उठाउने काम भएको छ,’उनले भनिन।
सञ्चारिका समूहमा भएको विवादले संस्था र नेतृत्वको कार्यशैलीबारे गम्भीर सवाल उठाएको छ ।