जनकपुरधाम – तराई–मधेसमा उल्लास पूर्वक मनाइने रङहरूको पर्व होली मा फुटफाटे पसलहरुबाट रङ, अबिर ,बेलुन , पिचकारी तथा होलीको लेखिएको भेस्ट , कुर्ता तथा होलीका अन्य सामग्री किन्नेको भीडको बजारमा देखिएको छ।
बजारमा विशेषगरी बालबालिकाका लागि आकर्षक पिचकारी, पानी भर्ने बेलुन, विभिन्न रंग तथा होली खेल्न प्रयोग गरिने सामग्री राखिएको छ ।



फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। धनुषाका जनकपुरधाम सहित मुख्य बजारहरु महेन्द्रनगर, ढल्केवर, विरेन्द्रबजार, सबैला लगायत अन्य ग्रामीण बजारमा पनि होलीका सामान किन्नेको भीड लागेको छ। होलीका लागि आवश्यक सामग्री किन्न प्राय सबै बजार चोकहरुमा अस्थायी रुपमा फुटफाटमा पसलहरु थापेर मेला झै लाग्ने गरेको छ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा रङ बेच्न बसेका स्थानीय दिपेन्द्र मण्डलले ३० हजार रुपियाँको रङ , अबिर , बेलुन, पिचकारी लगायत होलीमा सामग्री ल्याएको यसबाट ५० हजार जति को व्यापार भएर २० हजार नाफाहुने बताए।
त्यसैगरी रमेश गुप्ताले होली लेखिएको भेस्ट, कुर्ता लगायत होली विशेष लुगाको राम्रो व्यापार भइरहेको बताए।
अहिले होली खेल्नेको सङ्ख्या बाक्लो हुने भएपछि रङ अबिरको व्यापार राम्रो हुने गरेको फुटकर व्यापारीहरूको भनाइ छ । होली खेल्दै रमाउँदै व्यापार पनि हुने भएपछि रमाइलो हुनेगरेको अर्का व्यापारी राधेश्याम गुप्ताले जानकारी दिए ।
मिथिलाको होली निकै चर्चामा भएकोले अहिले जनकपुरमा होलीका दिन हजारौं युवा युवतीहरू होली खेल्न आउने गर्छन् । आजभोलि विदेशी पर्यटकहरू समेत यहाँ होली खेलेर रमाउने गरेका छन् ।











