
महोत्तरी - नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वार्टर बर्दिवासको जनहित कार्यक्रम अन्तर्गत श्री नं. ९ बाहिनी अडड अन्तर्गतको गोरखनाथ गणले सोनमा गाउपालिका २ स्थित श्री सरसस्वती जनता मा.वि. विद्यालयलाई सुविधा सम्पन्न चारकोठे छात्रा शौचालय बनाइदिएको छ ।
आन्तरिक स्रोतबाट करिव दुई महिनाको नेपाली सेनाको परिश्रम तथा स्रोत र साधनले बनाइएको सो शौचालय आईतवार मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जिसीको हातबाट विद्यालयका प्रधानाध्यापक राजकुमार साहलाई हस्तान्तरण गरिएको हो । नं ९ बाहिनीका बाहिनीपति सहायक रथी युवराज कार्की,महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी,गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोद विकास पाठक तथा विभिन्न सुरक्षा निकाय प्रमुखहरु समेतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि सो छात्रा शौचालय हस्तान्तरण गरिएको हो ।
विद्यालयमा भवन अभावसंगै शौचालय अभाव समेत रहेकोमा छात्राहरुलाई सुविधा हुनेगरि नेपाली सेनाको तर्फबाट सहयोग स्वरुप सो शौचालय निर्माण गरिएको हो । शौचालय हस्तातरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका मध्यपुर्वी पृतनाका पृतनापति जि.सी.ले छात्राहरुलाई अत्यन्त आवश्यक रहेको शौचालय सहयोग गर्न पाउनु नेपाली सेनाको लागि शौभाग्यको कुरा भएको बताए । उनले समस्याहरु धेरे रहेपनि सवैको सानो सानो सहयोगले विद्यालय भित्रका ति अभाव तथा समस्याहरु समाधान हुने भन्दै नेपाली सेनाले भविष्यमा समेत भ्याएसम्मको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भोलीको कर्णधार विद्यालयमा पढ्ने बालबालिकाको उज्वल भविष्यको कामना समेत गरे ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबावु कवारीले विद्यालयहरुमा भौतिक संरचना देखि अन्य विभिन्न अभावहरु रहेकोमा ति समस्याहरु समाधानको लागि स्थानिय तहलाई आग्रह गरे । उनले सामुदायिक विद्यालयहरुमा क्षमता भन्दा वढी बालबालिका अध्ययनरत रहेको बताउदै सरोकारवाला निकायले भौतिक संरचना देखि शिक्षक व्यवस्थापन लगायतमा ध्यान दिन आग्रह गरे ।
यता विद्यालयका प्रधानाध्यापक साहले नेपाली सेनाले बनाईदिएको शौचालयप्रति आभार व्यक्त गर्दै यसले छात्राहरुलाई केहि हदसम्म राहत पुग्ने बताए । उनले झण्डै दुई हजार भन्दा वढी बालबालिका अध्ययन गरिरहेको सो विद्यालयमा छात्रा मात्र एक हजार भन्दा वढी रहेको बताए ।
विद्यालयमा केहि जिर्ण शौचालयहरु भएपनि ति शौचालयहरु प्रयोगको लागि अनुपयुक्त हुनुको साथै विद्यार्थीको क्षमता अनुसार निक्कै कम थियो । गोरखनाथ गणले ति जिर्ण शौचालयहरु समेत मर्मत गरिदिएको छ ।