
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
बुटवल स्थित सुप्रिम सहकारीको बचत अपचल सम्बन्धि मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको थियो ।
यसैबीच लामिछाने पक्राउ परेका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेकाे उल्लेख गरेको केही समयमै निवासबाटै पक्राउ परेका हुन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै उनलाई शुक्रबार साँझ बूढानीलकण्ठ निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लामिछानेलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ ।