
ढल्केबर - धनुषाको ढल्केबरस्थित कृषि बजारमा शुक्रबार बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको छ । ढल्केबरमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गर्दा काउलीमा विषादीको मात्रा अत्यधिक रहेको प्रमाणित गरेपछि उक्त काउली नष्ट गरिएको हो ।
कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोका अनुसार स्थानीय तरकारी व्यापारी नवल दासले काभ्रेको बनेपा नगरपालिका–१०, नालाबाट ल्याएको ७० किलो काउलीमा विषादीको मात्रा निर्धारित सीमा भन्दा बढी भेटिएको थियो । त्यसपछि उक्त काउली खाडल खनी पुरेर नष्ट गरिएको उनले जानकारी दिए ।
अध्यक्ष महतोका अनुसार हाटबजारमा दैनिक रूपमा तरकारी तथा फलफूलको नमूनामा विषादी अवशेष परीक्षण गरिँदै आएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका प्राविधिक रमेश मगरले परीक्षणका क्रममा उक्त काउलीमा ५८.२८ प्रतिशत रोकावट दर देखिएको जानकारी दिए । उनका अनुसार यति धेरै विषादी भएको काउली मानव उपभोगका लागि अयोग्य हुन्छ ।
प्राविधिक मगरका अनुसार प्रयोगशाला मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम रोकावट दर भएमा उपभोग गर्न मिल्ने मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्मको अवस्थामा केही दिनपछि मात्र सेवन गर्न सुझाव दिइन्छ तर ४५ प्रतिशतभन्दा बढी रोकावट दर भेटिएमा उक्त वस्तु नष्ट गर्नुपर्ने नियम रहेको छ ।
