
दिपेश मल्लिक
जनकपुरधाम। मधेश प्रदेशको प्रमुख सहर जनकपुरधाममा विवाहित किशोरी तथा महिलाहरूको सशक्तीकरणका लागि केन्द्रित पालिकास्तरीय परिचयात्मक कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
जानकी महिला जागरण समाज जनकपुरको आयोजनामा सम्पन्न यस कार्यक्रमलाई ‘सी लिड्स’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो, जसको उद्देश्य शिक्षामार्फत जीवन उपयोगी सीपहरू विकास गर्दै जीविकोपार्जनका अवसरहरू सृजना गर्नु हो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यस्ता परियोजनाले समुदायमा सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, तथा सामाजिक सशक्तीकरणको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। साथै, उनले १३ वडालाई समेट्ने १८ महिनाको योजनालाई प्रभावकारी बनाउने हेतुले वडा अध्यक्ष र सदस्यहरूलाई अनुगमनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

प्रमुख साहले विवाहित किशोरीहरूलाई आफ्नै साना व्यवसायिक उद्यमहरू स्थापना गर्न प्रेरणा दिँदै आत्मनिर्भर बन्ने बाटोमा प्रोत्साहित गरे।
कार्यक्रममा जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकनी कर्णले परियोजनाको बारेमा जानकारी दिँदै भनिन्, “१५ देखि २५ वर्ष उमेर समूहका सीमान्तकृत विवाहित किशोरी महिलाहरूलाई लक्षित गर्दै १७ वटा सिकाइ केन्द्र स्थापना गरिएको छ, जहाँ अधिकतम २५ जना सहभागी रहने व्यवस्था मिलाइएको छ।” उनका अनुसार, परियोजनाको मुख्य दातृ संस्था ‘स्ट्रिट चाइल्ड युके’ रहेको छ भने कुल बजेट ६१ लाख ९१ हजार ५ सय रुपैयाँ रहेको छ। कार्यक्रममा उपमेयर किशोरी साह, शिक्षा प्रमुख धिरेन्द्र कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, कार्यक्रम व्यवस्थापक विष्णु भण्डारी, संयोजक सुखदेव ठाकुर, अनुगमन अधिकृत सुसमिता ठाकुर, विभिन्न वडाका अध्यक्षहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
यस परियोजनाबाट विवाहित किशोरीहरूमा नेतृत्व क्षमता विकास, व्यवसायिक सीप तथा सामाजिक चेतनाको वृद्धिमा उल्लेखनीय योगदान हुने अपेक्षा गरिएको छ।