
शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका छन् । घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

माइतीघरमा भेला भएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले पछाडि हट्न अनुरोध गरेको थियो । तर अवस्था तनावग्रस्त बन्ने देखेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आन्दोलन अशान्त बनेपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो।

आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ।बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।