
महोत्तरी– महोत्तरीको भंगहा नगरपालिका–६ स्थित आफ्नै ससुराली घरमा २२ वर्षीया किरण मण्डलको रहस्यमय मृत्यु भएको छ। मृतकको परिवारले यो घटनालाई योजनाबद्ध हत्या भन्दै ससुराली पक्षका सदस्यहरूलाई संलग्न आरोप लगाएका छन्।मृतकका बुबा रामभरोष मण्डलका अनुसार किरणको विवाह २०७८ माघ २२ गते रामछविला मण्डलसँग १० लाख नगद, २ तोला सुन, लत्ताकपडा र अन्य सामग्री दिई धुमधामले गरिएको थियो। विवाहपछि एक नातिनीको जन्म पनि भएको छ , जो अहिले १४ महिनाकी भइसकेकी छिन्।
तर, विवाहपछिको समयदेखि नै किरणमाथि निरन्तर घरेलु हिंसा, गालीगलौज र कुटपिट हुने गरेको उनका बुबाले जाहेरीमा उल्लेख गरेका छन्।
हत्या पूर्व नियोजित
रामभरोष मण्डलका अनुसार ससुराली पक्षका किरणको देबर रवि मण्डल, जो विदेशमा थिए, घटनाको एक साताअघि मात्र नेपाल फर्केका छ र उनी नै प्रमुख योजनाकार रहेको आरोप लगाइएको छ। विदेशमै रहँदा रविले किरणलाई पटक–पटक फोनमा टर्चर गर्ने, डराउने, धम्क्याउने गरेका थिए। २०८२ वैशाख १४ गते रविले ‘हत्या गर्ने’ धम्की दिएको दाबी पनि जाहेरीमा गरिएको छ।
मृत्युको दिन
किरणको मृत्यु वैशाख १७ गते बिहानै अन्दाजी ९ बजे भएको अनुमान गरिएको छ। घटनास्थल किरण सुत्ने कोठाको छानामा ९ फिट अग्लो बाँसको बडेरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको उचाइ ४।५ फिट मात्र भएकोले आफैं झुन्डिन असम्भव रहेको परिवारको दाबी छ।
घटनाको अघिल्लो दिन, जब बुबा रामभरोष मण्डलले भिडियो कलमार्फत छोरीसँग कुरा गर्न खोजे, त्यतिबेला उनलाई छोरीसँग कुरा गर्न नदिई उल्टै अपशब्द प्रयोग गर्दै फोन काटिएको थियो। किरणलाइ हत्या नै गरेको हो बुबा राम भरोस मण्डले दाबि गरे , मेरो छोरीको शरिर भरि निलडाम र चोटपटक लागेको छ । मेरो छोरीलाई यी हत्यारा दाजुभाईले कुटपिट गरेरै हत्या गरेको हो।
प्रहरीमाथि आरोप
घटनाको अनुसन्धानको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरी आलोचनाको घेरामा परेको छ। मृतकको माईतीपक्षले प्रहरीमाथि घर पक्षसँग मिलेमतो गरी ढिलासुस्ती र पैसाको लेनदेनको आरोप लगाएका छन्।
न्यायको माग
रामभरोष मण्डलले न्यायको लागि प्रदेश र केन्द्र सरकारसँग अपील गरेका छन्। “छोरीको निर्मम हत्या गरियो, दोषीहरू खुलेआम हिँडिरहेका छन्, प्रहरीले केही गरेको छैन,” उनले भने, “हामीलाई न्याय चाहियो, दोषीलाई कडा कारबाही गरियोस्।”
स्थानीय मानव अधिकारकर्मीहरूले छिटो छानबिन र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। “यो घटना ढाकछोप गर्न खोजियो भने न्याय मर्छ,” एक स्थानीय समाजसेवीले भने। मानव अधिकारकर्मीहरूले पनि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माले किरण देवि मण्डलको हत्या गरेकाे आराेपमा उनको पति राम छबिला मण्डल विरुद्ध माइती पक्षले ०८२ वैशाख १८ गथे जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिएको आफूलाई जानकारी भएकाे बताईन्।
उनको अनुसार किरण देवि मण्डल वैशाख १७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएको र पीडित पक्षका अनुसार ०७८ माघ २२ गते छोरीको विवाह मण्डलसँग भएकोमा उनले छोरीलाई पटक पटक कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेका थिए ।
छोरीको शरीरभरी निलडाम देखिएको मृतकका बुबाले बताए । आरोपितले छोरीको हत्या गरी आत्महत्या देखाउन झुन्ड्याएको हुन सक्ने भन्दै थप अनुसन्धानको माग गर्दै माइति पक्षले पोष्टमार्टम गर्न विरोध गरेको मृतको बुबाले बताए ।
मृतकका बुबाले दिएको उजुरी लिँदै पोष्टमार्टम पश्चात थप अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गर्ने भनी सहमति भएपछि शवको प्रादेशिक अस्पताल जलेश्वरमा वैशाख १८ गते पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका इन्स्पेक्टर बिशाल सिंहले जानकारी दिए।
प्रहरीको प्रारम्भिक प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी शैलेन्द्र भट्टसँग गरिएको संवादमा उनले भने,“हामी भर्खरै आएका छौं, तीन–चार दिनमात्र भयो। यो घटनाको बारेमा थाहा छैन। अहिले म बुझ्दैछु,”। साथै, प्रहरी र ससुराली पक्षबीच पैसाको लेनदेन भएको भन्ने आरोपका विषयमा उनले थप अनुसन्धान गरी जानकारी दिने प्रतिबद्धता जनाएका छन्।