जनकपुरधाम - धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले छापा मारी केही योजनासम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ। आयोगले मंगलबार गाउँपालिका कार्यालयमै पुगेर विगतमा सेटिङमा दिइएका र अलपत्र रहेका योजनाका कागजातहरु नियन्त्रणमा लिएको हो ।

अनियमितता सम्बन्धी समाचार सार्वजनिक भएपछि आयोगले पटक–पटक कागजात माग्दा पनि गाउँपालिका कार्यालयले नदिएपछि टोली आफैं पुगेर फाइल नियन्त्रणमा लिएको हो ।

तर, ती फाइलहरू रहेको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग रहेको भन्दै कर्मचारीहरूले फाइल दिन आनाकानी गरेका थिए । आयोगका अनुसार करिब चार घण्टासम्म प्रतीक्षा गरेपछि दराजको ताल्चा फोर्ने चेतावनी दिइएपछि मात्र फाइलहरू उपलब्ध गराइएको थियो ।

एक कर्मचारीका अनुसार अख्तियारले नियन्त्रणमा लिएका योजनाहरूमा चार वर्षदेखि अलपत्र परेका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे भवन, गाउँपालिका अगाडि निर्माणाधीन महादेव मन्दिरसहित आधा दर्जन योजना छन् ।
यी सबै योजना पूर्व अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्त्यतिर, आर्थिक वर्ष २०७८÷७९ मा प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीको मिलेमतोमा रौतहटस्थित आर्यन कन्ट्रक्सनलाई सेटिङमा टेण्डर तथा कोटेशनमार्फत दिइएको थियो ।

आर्यन कन्ट्रक्सनले वडा नं. २ को श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, प्रशासनिक कार्यालयको दोस्रो तल्ला, दलित बस्तीको बाटोको पीसीसी ढलान, धुमासन टोलको पीसीसी ढलान, पाटोटोलका सार्वजनिक दलान लगायत झण्डै एक दर्जन योजना पालिका अध्यक्ष राउतको मिलेमतोमा दिइएको थियो ।
यीमध्ये केही योजना हतारमा काम गरिए पनि मन्दिर र लक्ष्मी माविको भवन अधुरो अवस्थाम ा छ । जनप्रिय माविको भवन भने वर्तमान अध्यक्ष रामअशिष महतो कार्यभार सम्हालेपछि सम्पन्न भएको थियो ।

आर्यन कन्ट्रक्सनलाई दिइएका टेण्डर योजनामा एक प्रतिशतसम्म पनि बिलो प्रस्ताव आएको छैन । सेटिङ योजनाहरूको कामका लागि तत्कालीन इन्जिनियर जितेन्द्र यादवलाई जिम्मेवारी नदिई करारमा शौरभ कुशवाहालाई राखेर बर्दिबासमै बसेर कागजात तयार गरिएको थियो ।




