
महोत्तरी - महाेत्तरी जिल्लाकाे बलवा नगरपालिका वडा नं. २ स्थित निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको उद्वाटन एक भव्य समारोहबीच सम्पन्न भएको छ । बुधबार नगर प्रमुख राम बिजय महताेले विधिवत रुपमा पुजापाठ गरि रिबन काटी भवनकाे उद्वाटन गरिएको हाे ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख महतोले स्थानीय तहको सुदृढीकरणका लागि आधारभूत भौतिक संरचना आवश्यक रहेको बताउँदै नवनिर्मित वडा कार्यालय भवनले वडा नं. २ का नागरिकलाई सार्वजनिक सेवा लिन सहज र सम्मानजनक वातावरण दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कार्यालय भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा बलवा नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले पनि वडा कार्यालय भवन स्थानीय सरकारको पहिचान मात्र नभई जनताको सेवामा समर्पित ‘गृहालय’ भएको उल्लेख गर्दै यस भवनबाट हुने सेवा प्रवाह पारदर्शी, जवाफदेही र प्रभावकारी हुनुपर्नेमा जोड दिए।
समाप्त समारोहपछिको प्रतिक्रिया:
स्थानीयवासीहरूद्वारा यो भवन उद्घाटनप्रति सकारात्मक प्रतिक्रिया दिइएको छ। उनीहरूका अनुसार पहिले अस्थायी ठाउँबाट सञ्चालन हुँदै आएको वडा कार्यालयमा सेवाग्राहीले सेवा लिन सास्ती बेहोर्नु परेको थियो। अब स्थायी भवनबाट सेवा पाउँदा व्यवस्थित, सुरक्षित र समयमै सेवा प्राप्त हुने आशा गरिएको छ।
वडा नं. २ मा अत्यावश्यक भएको वडा कार्यालय भवनको निर्माण स्थानीय जनसहभागिता, नगरपालिकाको बजेट तथा जनप्रतिनिधिहरूको पहलमा सम्भव भएको हो। भवन आधुनिक डिजाइनअनुसार निर्माण गरिएको छ र यसमा प्रशासनिक कामका लागि आवश्यक कोठा, छलफल कक्ष, प्रतीक्षालय लगायत सुविधा छन्।
नव–निर्मित भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि सरोकारवालासम्मको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा अध्यक्ष शशिभूषण साहले गर्नुभएको थियो भने नगर उप–प्रमुख श्रीमती रामदुलारी देवी, वडा नं. ०४ का अध्यक्ष प्रमोद कुमार यादव, वडाका पूर्व अध्यक्ष विपिन पजियार, भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता परिवार,स्थानीय बुद्धिजीवी,समाजसेवी,भरभलादमी, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो ।