
महोत्तरी - “समुदाय–प्रहरी साझेदारी ः सुरक्षित सडक, सुरक्षित समाज” भन्ने मूल नाराका साथ बर्दिवासमा सडक सुरक्षा सप्ताह २०८२ अन्तर्गत ट्राफिक जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।
कार्यक्रमको उद्देश्य सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको जनचेतना र नागरिक–प्रहरी सहकार्य सुदृढ गर्नु रहेको आयोजकले बताएका छन्।कार्यक्रमको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासले गरेको हो। बर्दिवास नगरपालिका वडा नं. १ स्थित गौतम होटल अगाडिको खुला चौरबाट प्रभातफेरीमार्फत सप्ताहको उद्घाटन गरिएको हो।
बैण्ड बाजा र जनचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी विहान ७ बजे सुरु भई बर्दिवास चौकको प्रमुख भागहरूको परिक्रमा गरी पुनः चौरमै समापन गरिएको थियो।फेरीमा विद्यार्थी, प्रहरी, शिक्षक, यातायात व्यवसायी र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले गर्नुभएको थियो। उहाँले भन्नुभयो,“यो सप्ताह अभियान सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने प्रयास हो।नियम पालना गरेरै मात्र दुर्घटना नियन्त्रण सम्भव छ, र यसका लागि सबैको साथ आवश्यक छ।
”कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले सडक सुरक्षा सामूहिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले थपे, “सडक सुरक्षाको जिम्मेवारी केवल ट्राफिक प्रहरीको होइन, यो विद्यालय, घरपरिवार, यातायात व्यवसायी र सबै नागरिकको हो । जनचेतना बिना दुर्घटना नियन्त्रण असम्भव छ । यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ ।”
“सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, फुटपाथ नभएको सडकमा सडकको दाहिने किनारबाट हिँड्ने गरौँ ,ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ लगायतका सहभागीहरूले बोकेको प्लेकार्डहरूमा उल्लेख गरिएका जनचेतनामूलक सन्देश रहको थियो । यी सन्देशहरूले सडक प्रयोगकर्ताको ध्यानाकर्षण गर्दै सचेतना अभिवृद्धिमा सहयोग र्पुयाएको सहभागीहरूको भनाइ छ।






कार्यक्रममा बर्दिवासका विभिन्न विद्यालयहरूका विद्यार्थीहरू, शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि, ट्राफिक प्रहरी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।बर्दिवासमा सुरु भएको ट्राफिक जनचेतना सप्ताह कार्यक्रमले सुरक्षित सडक बनाउने अभियानमा प्रहरी–समुदाय–नागरिक सहकार्यको बलियो सन्देश दिएको छ।